मेयरले वास्ता नगरेपछि वडाध्यक्षको धर्ना स्थगित



जनकपुरधाम : पन्ध्र दिनदेखि आन्दोलनरत जनकपुरधाम उपमहानगरपालिका वडाध्यक्षहरूको मागलाई मेयरले बेवास्ता गरेपछि धर्ना कार्यक्रम नै स्थगित गरिएको छ । माघ १५ गतेबाट विभिन्न माग राखी वडाध्यक्षहरूले धर्ना थालेका थिए ।

 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित आबद्ध वडाध्यक्षहरूले माघ २८ गते धर्ना छोडेपछि कांग्रेसका वडाध्यक्षहरुले धर्नालाई २४ घन्टे रिले अनशनमा परिणत गरेका थिए । त्यसपछि पनि मेयर लालकिशोर साहले माग सम्बोधन गर्ने विषयमा ध्यान नदिएपछि अर्को चरणको आन्दोलन घोषणा गर्ने भन्दै धर्नाकारी वडाध्यक्षहरूले मंगलबार आन्दोलन स्थगित गरेका हुन् ।

 

कांग्रेसले वडाध्यक्षहरूको रिले अनशनलाई समर्थन गरेको थियो । कांग्रेसका स्थानीय नेताहरू अनशनस्थलमा समेत बसेका थिए । मेयर साहले आन्दोलनप्रति बेवास्ता जनाएकाले अन्ततः हाललाई आन्दोलन स्थगित गरिएको आन्दोलनकारीहरूले बताए । उनीहरूले चाँडै सशक्त आन्दोलन गर्ने जानकारी दिए ।

 

संवैधानिक व्यवस्थाअनुसार आफूहरूलाई अधिकार प्रत्यायोजन हुनुपर्नेलगायत माग गर्दै राजपा र कांग्रेसका १६ जना वडाध्यक्ष धर्नामा बसेका थिए ।

 

धर्नाकारीहरूले अघि सारेका मागमा वडा कार्यालयका लागि मानवीय तथा आर्थिक व्यवस्थामा स्वायत्तता, कार्यपालिका बैठकमा आफूहरूले अजेन्डा राख्न पाउने अधिकार, बैठकका कुरा पारदर्शी गर्न सञ्चारकर्मीको व्यवस्थालगायत छन् ।

 

त्यसैगरी संवैधानिक प्रावधानअनुसार बजेट विनियोजन तथा कार्यपालिकाको बहुमतबाट बजेट पारित हुनुपर्ने, कार्यभारअनुसार कर्मचारी व्यवस्था, परिक्रमा क्षेत्रभित्र अव्यवस्थित तरिकाले भइरहेकोे मद्यमांस विक्रीवितरणमा रोक, अवकाशप्राप्त कर्मचारीलाई पदमुक्त गरी युवा कर्मचारीको व्यवस्था र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीको व्यय प्रत्येक महिना कार्यपालिका बैठकमा पेस गरिनुपर्ने लगायतका माग वडाध्यक्षहरूको रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्