अख्तियारको नियन्त्रणबाट असई फुत्किए 



ढल्केवर : घुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीको नियन्त्रणबाट फुत्किएका छन् ।

महोत्तरीको औरही प्रहरी चौकीमा कार्यरत प्रसनि रामनरेश साहलाई बर्दिवासबाट खटिएका अख्तियार टोलीले १० हजार घुस रकमसहित पक्राउ गरेको थियो । स्थानीयका अनुसार गाडीबाट आएका एक अपरिचित व्यक्तिले प्रसनि साहलाई उक्त रकम दिएका थिए ।

रकम लिएकै बेला प्रसनि साह अख्तियार टोली देखेर नजिकै रहेको दिनेश साहको फर्निचर पसलमा लुक्न पुगेका थिए । अख्तियार टोलीले पछ्याउँदै प्रसनि साहसहित व्यापारीलाई समेत घुस लेनदेनमा संलग्न रहेको आरोप लगाउँदै पक्राउ गरेका थिए । पक्राउ गरी दुवैलाई लैजानेक्रममा गलत व्यक्तिलाई फसाइको भन्दै स्थानीय व्यापारीहरूले अख्तियार टोलीलाई रोक्न लाग्दा भीडको मौका पाएर प्रसनि साह भाग्न सफल भएको बताइएको छ ।

रोक्ने क्रममा अख्तियार टोली र स्थानीयबीच विवाद बढेपछि केहीबेर औरहीको अवस्था तनावग्रस्त बनेको थियो ।फरार प्रसनिको खोजी भइरहेको औरही प्रहरीले जनाएको छ ।  

अहिले औरहीको अवस्था सामान्य छ भने यस विषयमा औरही नगरपालिकाका मेयर र जिल्ला सदरमुकाम जलेश्वरबाट आएका प्रहरी तथा अख्तियार टोलीबीचको बैठक जारी छ । 

 

प्रतिक्रिया दिनुहोस्