जनकपुरका मेयरले गराए स्वास्थ्य बिमा



जनकपुरधाम : उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकार सबै नेपालीलाई नि:शुल्क प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

जनकपुरमा सोमबार धनुषा जिल्लाको स्वास्थ्य बिमा सदस्यता वितरण अभियानलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले सातै प्रदेशमा सरकार नि:शुल्क प्राथमिक उपचारको व्यवस्था गर्न दृढ रहेको बताए ।

 

स्वास्थ्य क्षेत्रको आमूल परिवर्तन गर्ने दिशामा आफू रहेको दाबी गर्दै उपप्रधानमन्त्री यादवले प्रत्येक प्रदेशमा सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने तयारीसमेत गरेको जानकारी दिए ।

 

 यादवले भने, 'स्वास्थ्य बिमाले सबैलाई उपचारको पहुँचमा पुर्‍याउने भएकाले अरु बिमाजस्तै स्वास्थ्य बिमा गर्न जरुरी छ ।'

 

कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य बिमा संविधानमै उल्लेख भएकाले स्वास्थ्य बिमा संविधान कार्यान्वयनको एउटा पाटो भएको बताए । उनले भने, 'स्वास्थ्य बिमा धनुषामा सुरु गरेर स्वास्थ्य मन्त्रालयले राम्रो काम गरेको छ ।'

 

स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीले स्वास्थ्य बिमा नियमावली मन्त्रीपरिषद्मा पेस भइसकेकाले छिट्टै पास हुने आशा व्यक्त गरिन् । उनले भनिन्, '३६ जिल्लामा स्वास्थ्य बिमा सञ्चालनमा छ, अब यसलाई देशैभरि सञ्चालन गर्छौं ।'

 

पूर्व स्वास्थ्य राज्यमन्त्री रामसिहं यादव र जनकपुर उपमाहानगरपालिकाका मेयर लालकिशोर साहलाई स्वास्थ्य बिमाको परिचयपत्र दिएर धनुषा जिल्लामा स्वास्थ्य बिमाको शुभारम्भ गरिएको घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा अन्य चारजनाले पनि स्वास्थ्य बिमा गराएका छन् । ती चारैजनालाई मुख्यमन्त्री राउतले परिचयपत्र हस्तान्तरण गरे । 

प्रतिक्रिया दिनुहोस्