अरुण तेस्रो : १४ हजार बढी रुख कटान हुँदै



विराटनगर : संखुवासभामा निर्माणाधिन बहुप्रतिक्षित अरुण तेस्रो जल विद्युत परियोजनाबाट उत्पादन भएका विद्युत प्रशारण लाईन विस्तारका लागि संखुवासभाका मात्र १४ हजारभन्दा बढी रुख कटान हुने भएका छन् । 

 

अरुण तेस्रो जलविद्युत् परियोजनाले संखुवासभामा रहेको मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ हेक्टर वन प्रयोग गरेको छ । कटान हुने रुखहरु सम्बन्धीत सामुदायिक वन उपभोत्ता समितिका उपभोत्ताहरुले प्रयोग गर्न पाउने व्यवस्था छ । 

 

परियोजनाले रुख कटान गर्ने र सम्बन्धित उपभोक्ता समूहले कटान भएका रुखको व्यवस्थान तथा प्रयोग गर्ने जनाइएको छ । अनावश्यक काठपात सम्बन्धित समितिले लिलामबिक्री समेत गर्न पाउने छन् ।

 

जल विद्युत निर्माणका क्रममा अहिलेसम्म संखुवाभसामा छ हजार रुख कटान भइसकेका छन् । आयोजना निर्माण स्थलको एक सय २३ हेक्टरका जमिनको छ हजार रुख कटान गरिएकोे अरुण तेस्रो निर्माणको जिम्मा पाएको भारतको सतलज कम्पनीले जनाएको छ । 

 

त्यसबाहेक नै १४ हजार रुख कटान गर्नुपर्ने भएको हो । आयोजना स्थल ड्याम साइड र पावर हाउसमा लगिने ३३ केभी प्रशारण लाइनका लागि थप नौ सय ९४ वटा रुख कटान गर्ने योजना छ । 

 

संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्याम साइड र चिचिला गाउँपालिकाको पुखुवा पावर हाउस निर्माण स्थलमा अहिलेसम्म छ हजार रुख काटिसकिएको जिल्ला वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हेमन्त पराजुलीले बताए । 

 

आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रुखहरु कटान भए पनि विरुवा अर्को ठाउँमा रोपिनुपर्ने चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाको बताए । 

वन ऐनअनुसार विद्युत प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक रुख बराबर २५ विरुवा र अन्य वन क्षेत्रमा एक रुख बराबर दुई विरुवा रोप्नुपर्ने हुन्छ । कटान गरिनु पर्ने रुख व्यवस्थापनका लागि सम्बन्धीत उपभोक्ता समितिलाई रकम अयोजनाले उपलब्ध गराएको जानकारी भए पनि त्यसको सही सदुपयोग भएनभएको बारे सम्बन्धीत उपभोत्ता समितिसंग लिखित जवाफ माग गरिएको अध्यक्ष शेर्पाले बताए ।

 

परियोजनाको ट्रान्समिसन लाइनका लागि सामुदायिक वन क्षेत्र र निजी वनको रुख कटानका लागि सतलजले नेपाल सरकारसँग माग गरेको आयोजनाले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसारनै अरुण–३ र कोसी करिडोरलाई रुख काट्न दिने निर्णय भएको सहायक वन अधिकृत पराजुलीले बताए । 

 

उनले भने, ‘तर अरुण–३ को सात जिल्ला हुँदै लैजाने ट्रान्समिसन लाइनका विस्तारका लागि ९० हेक्टर जमिनको रुख काट्न दिने सरकारी निर्णय भने हुन बाँकी छ ।’ अरुण तेस्रो जलविद्युत् र कोसी करिडोर प्रशारण लाइन निर्माणको लागि संखुवासभाका १८ वटा सामुदायिक वनका रुख काट्ने तयारी छ । 

 

प्रशारण लाइन विस्तारका लागि करिव दुई किलोमिटर लम्बाइ र ४६ मिटर चौडाई क्षेत्रका रुख काट्ने सम्झौता छ । जल विद्युत परियोजनाले चिलाउने, सखुवा, उत्तिस, पात्ले, मलातो, वेपारी लगाएतका रुख कटान गर्ने जिल्ला वन कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्