सुन तस्करी मुद्दामा उच्च अदालतबाट छुटे १३ जना 



विराटनगर: साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा उच्च अदालत विराटनगरको आदेशमा १३ जना साधारण तारेखमा छुटेका छन् । जिल्ला मोरङले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश बेरितको भएको भन्दै साधारण तारेखमा छाड्न माग गरी अभियुक्तहरूका तर्फबाट कानुन व्यवसायीले अदालती बन्दोबस्तीको १७ नम्बरअनुसार उच्चमा निवेदन दिएका थिए । मुक्त हुनेमा उच्च प्रहरी अधिकृतलगायत छन् । उच्च अदालतको आदेशबाट पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डीएसपी प्रजित केसी साधारण तारेखमा रिहा भइसकेका छन् ।

६ जनालाई १० लाख रुपैयाँ धरौटीमा मुक्त गर्ने आदेश भएको छ । अभियुक्तहरू विमल पोद्दार, राजेन्द्रकुमार शाक्य, राजकुमार दारुका, माधव भनिने मदनप्रसाद घिमिरे, अबु आलम भनिने सैयद अकबर र डब्बु भनिने इस्तियाद उद्दिन धरौटीमा रिहा भएको उच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले बताए । यसैगरी ५ लाख रुपैयाँ धरौटीमा रामकुमार तिवारी, मदन सिलवाल र प्रभात अग्रवाल रिहा भएका छन् । अभियुक्तका तर्फबाट परेको निवेदनमा उच्च अदालतमा गत साउन ३१ गतेदेखि सुनुवाइ सुरु गरिएको थियो । माघ २४ गतेसम्म सबै निवेदनउपर उच्च अदालतका न्यायाधीशले सुनुवाइ गरेका थिए ।

अन्य १७ जना अभियुक्तलाई भने पुर्पक्षका लागि थुनामा राख्ने आदेश उच्च अदालतले दिएको छ । अभियुक्तहरू राजन कुमार, सम्बिरप्रसाद तोलांगे, पुण्यप्रसाद लामा, राजन थापा, हेमन्त गौतम, टेकराज मल्ल ठकुरी, महावीर गोल्यान, तुलाराम थारू, लाक्पा शेर्पा, डीएसपी सञ्जयबहादुर राउत, लालबहादुर मगर, नरेन्द्र कार्की, मोहन काफ्ले, गोपाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, डीआईजी श्यामबहादुर खत्री, अमरमान डंगोल, भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, रामहरि सुवेदी, लक्ष्यबहादुर गुरुङ, रेवतकुमार आचार्य, छिरिङ घले, बेनु श्रेष्ठ, बालकृष्ण खडका र ठाकुरप्रसाद ढुंगानाका हकमा जिल्लाकै आदेश सदर गरेको थियो ।

यो मुद्दामा सुरुमा मोरङ प्रहरीले ३१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसपछि पक्राउ परेका अन्यसहित गरी अभियुक्तको संख्या ७५ जना पुगेको थियो । यो मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङले २०७४ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी १७ अर्ब १ करोड ८० लाख मूल्य बराबरको करिब ३८ क्विन्टल सुन तस्करी गरेको आरोपमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती, प्रहरीका उच्च अधिकृतसहित विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७४ मंसिरमा थाई एयरलाइन्सबाट भित्र्याइएको भनिएको साढे ३३ किलो सुन गायब भएको थियो । सुन खोज्ने क्रममा भएको केरकारमा २०७४ फागुन १८ गते सुनका भरिया मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्