एसइईका प्रश्नपत्र प्रदेशअनुसार फरक-फरक, ऐच्छिक विषयमा भने एउटै



काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र यस वर्षदेखि प्रदेशगत रूपमा तयार हुँदै छन्। प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र तयार गरी ७२ सुरक्षाकर्मीको तीन घेरामा जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गर्ने तयारी छ। ६ वटा अनिवार्य विषयमा प्रदेशस्तरीय प्रश्नपत्र हुने भए पनि ऐच्छिक विषयमा भने विद्यार्थी कम हुने भएकाले एउटै प्रश्नपत्र बनाइनेछ। 

१० चैतबाट सञ्चालन हुने परीक्षाका लागि ३ फागुनदेखि प्रश्नपत्र छपाइ सुरु गर्ने तयारी छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा प्रश्नपत्र छाप्ने निर्णय गरेको हो। शिक्षा मन्त्रालयका सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष खगराज बरालका अनुसार पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाल प्रहरी राखेर प्रश्नपत्र छपाइ गरिनेछ।

सेना २७, सशस्त्र प्रहरी ३० र नेपाल प्रहरीका १५ सुरक्षाकर्मी प्रश्नपत्रको सुरक्षामा खटिने भएका छन्। सचिव बरालले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा संवेदनशील भएकाले तीन घेरामा सुरक्षाकर्मी राखेर प्रश्नपत्र छपाइ हुन लागेको बताए। एसइईको नतिजा लेटर ग्रेडिङ प्रणालीमा आउन थालेपछि सुरक्षाको जोखिम कम भए पनि संवेदनशील विषय भएकाले सुरक्षा व्यवस्था राम्रो बनाएको उनले बताए।

एक हजार नौ सय ६१ परीक्षा केन्द्र 

आगामी १० चैतदेखि सुरु हुने एसइई परीक्षा सञ्चालनका लागि देशभरमा एक हजार नौ सय ६१ परीक्षा केन्द्र कायम गरिएको छ। अघिल्लो वर्ष एक हजार नौ सय ५४ केन्द्र थिए । एसइईका परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार सबैभन्दा बढी काठमाडौंमा एक सय १२ केन्द्र हुने भएका छन् । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक केन्द्र कायम गरिएको खवर नयाँपत्रिकामा छ ।

यस वर्ष नियमिततर्फ पाँच लाख ११ हजारले रजिस्ट्रेसन फारम भरेकामा अहिलेसम्म तीन लाख ८४ हजारले परीक्षाको आवेदन भरेका छन्। आवेदन भर्ने समय १० फागुनसम्म छ ।

प्रतिक्रिया दिनुहोस्