ट्रम्प र संसद्‍बीच मेक्सिको सीमामा पर्खाल बनाउने सहमति



एजेन्सी : मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र संसद्बीच केही बुँदामा सहमति भएको छ। रकम अभावमा संघीय कार्यालयमा कामकाज पुनः बन्द हुने अवस्था देखिएपछि यस्तो सहमति भएको हो।

सोमबार रात भएको उक्त सम्झौताअन्तर्गत सिमानामा पर्खाल बनाउन १ अर्ब ४० करोड अमेरिकी डलर बजेट विनियोजन गरिने भएको छ। संसदीय सहयोगीका अनुसार ट्रम्प कुनै पनि हालतमा पर्खाल बनाउनबाट पछि नहट्ने दृढ भएपछि विपक्षी सांसद सहमत भएका हुन्। 

यसअघि ३५ दिनसम्म रकम अभावले अमेरिकी संघीय निकायहरू बन्द भएका थिए। अमेरिकी इतिहासकै सबैभन्दा लामो खर्चबन्दीका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान छ। डेमोक्र्याट तथा रिपब्लिकन नेताहरूले सीमा सुरक्षाका विषयमा एक सैद्धान्तिक सहमति गरेसँगै अमेरिकी संघीय निकाय खर्चविहीन हुने अवस्थाबाट गुज्रिने जोखिम टरेको हो।

पर्खालका लागि राष्ट्रपति ट्रम्पले ५ अर्ब ७० करोड डलर छुट्याउनुपर्ने माग गर्दै आएका थिए। त्यसको अनुपातमा उक्त रकम निकै कम हो। विनियोजन गरिएको रकमबाट ५५ माइल लामो पर्खाल लगाउन पुग्नेछ। उक्त पर्खाल स्टिलको हुने बताइएको छ। ट्रम्पले भने कंक्रिटको पर्खाल लगाइने बताउँदै आएका थिए। ह्वाइट हाउसले डिसेम्बरमा २१५ माइल लामो पर्खाल बनाउने बताउँदै आएको थियो। सोमवार छुट्याइएको रकमबाट टेक्ससको रियो ग्रान्ड उपत्यकामा पर्खाल बनाइनेछ।

प्रतिक्रिया दिनुहोस्