खोई त लकडाउनको पालना ?



जनकपुरधाम: विगत लामो समयदेखिको लकडाउनका कारण सर्वसाधारणको जनजिवन कष्टकर भएपछि नेपाल राष्ट्र बैंकले सरकारको निर्देशनानुसार गत आईतबारदेखि देशभरका बैंक तथा वित्तिय संस्थाहरु खोल्ने निर्णय गरेसँगै जनकपुरधामका बैंकहरु पनि सञ्चालनमा आएका छन् ।

खोलिएका शाखाहरुमा सकभर कम कर्मचारीबाट सञ्चालन गर्न भनिए पनि यहाँका बैंकहरु लकडाउन र सामाजिक दूरीको धज्जी उडाईरहेको देखिएको छ । वित्तिय संस्थाहरु प्रहरी प्रशासनको लापरवाहीको फाईदा कोरोना महामारीलाई झन फैलाउने तर्फ उन्मुख देखिएका छन् ।

यहाँका अधिकांश बैंकहरुमा टनाटन कर्मचारीसँगै सेवाग्राहीहरु समेत खचाखच भडिएको देखिन्छ । कोरोना भाइरसको महामारीबाट बच्न विश्वव्यापी रुपमा लकडाउन र सामाजिक दूरी बाहेक अन्य कुनै विकल्प नरहेको सर्व्विदित रहेपनि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा लकडाउन र सामाजिक दूरीको पूर्ण पालना अझै पनि हुन सकेको छैन ।

जनकपुरधामको कदमचोकस्थित ग्लोबल आईएमइ बैंकमा सञ्चालन भएको दिनदेखि नै दैनिक सयौं व्यक्तिहरुको भीड लागेको हुन्छ । त्यहाँ न त लकडाउनको कुनै मापदण्ड पालना गरिन्छ न सामाजिक दूरीको कुनै ख्याल । बैंकको गेट अगाडी सयौं मानिस एकै ठाउँमा जम्मा भएका हुन्छन् । त्यहाँको भीडभाड न त स्थानीय प्रशासनले रोक्न सकेको छ न त जनप्रतिनिधिले नै ।

बेलाबखतमा प्रहरी पुगेर लकडाउन कार्यान्वयन गराएको जस्तो देखाए पनि कडाई भने गर्न सकेको छैन । यस सम्बन्धमा ग्लोबल आईएमइ बैंकका शाखा प्रबन्धक विजय साहले जनकपुरधाम उपमहानगरपालिकाले एकैचोटी पाँच सय जनालाई बृद्धा भत्ताका लागि पठाउने गरेकोले आफुहरुलाई व्यवस्थापन गर्न समस्या परेको बताए । बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बैंकहरु खोल्ने समयअवधि तोकिएपनि बृद्धा भत्ताको रकम बाँडनुपर्ने भएकोले आफ्ना कर्मचारीहरु साँझसम्म काम गर्न बाध्य रहेको उनले सुनाए ।

उनले भने,‘जनकपुरधाम उपमहानगरपालिकाले क्रमिक रुपमा बृद्धाभत्ता बाँडेको भए हुन्थ्यो,तर एकैचोटी पाँच सय जनालाई बैंकमा कुपन लिएर पठाईदिन्छन्,हामीले बैंक भित्र व्यवस्थापन गर्ने कि बाटोमा पनि व्यवस्थापन गर्ने ?’

यता जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रले २५ वटै वडाको बृद्धाभत्ताको रकम बैंकमा गईसकेकोले त्यसको व्यवस्थापन गर्ने काम बैंकहरुको रहेको बताईन् । उनले भनिन,‘ एक त लकडाउनका कारण एक महिना ढिलो गरि बृद्धाभत्ताको पैसा पठाइएको छ ,त्यसमाथि पनि हामीले पैसा बाँडेनौं भने हाम्रो आलोचना हुन्छ । यस्तो समयमा सबैलाई पैसाको उत्तिकै खाँचो रहन्छ,त्यसैले हामीले बृद्धाभत्ताको रकम बाँडन भनेका छौं । अब यसको व्यवस्थापन गर्ने काम बैंकको हो ।’

एकातर्फ दिनप्रतिदिन कोरोनाको संक्रमितको संख्या निरन्तर थपिदैं गईरहेको छ भने अर्कोतर्फ लकडाउन झन खुकुलो बन्दै गईरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्