हिरो गोल्डकप: नेपाल आज इरानसँग भिड्दै



काठमाडौं : भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपाली महिला टोलीले बुधबार इरानसँग प्रतिस्पर्धा गर्दैछ । चार टोली सहभागी प्रतियोगितामा नेपाललाई अगाडि बढ्न इरानसँग स्पष्ट जितको खाँचो छ । नेपालले सोमबार भएको दोस्रो खेलमा आयोजक भारतलाई २–१ गोलले पराजित गर्दै अगाडि बढ्ने आधार तय गरेको थियो ।

नेपाल पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित भएको थियो । इरान भने यसअघिका दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको इरान दोस्रो खेलमा म्यानमारसँग २–० गोलले पराजित भएको थियो ।

यसैगरी बुधबारको अर्को खेलमा भारत र म्यानमार भिड्नेछन् । लगातार दुई जित निकालेको म्यानमार ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भारतले तीनतीन अंक बनाएका छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । अन्तिम खेलमा नेपालले स्पस्ट जित हात पारेमा, म्यानमारले भारतलाई हराएमा वा बराबरीमा मात्र रोके पनि नेपाल प्रतियोगिताको फाइनलमा पुग्नेछ ।

भारतले नेपालको विराटनगरमा फागुन २८ देखि ८ गतेसम्म आयोजना हुने पाँचौं महिला साफ च्याम्पियनसिपको तयारीका लागि हिरो गोल्डकप आयोजना गरेको हो । यही प्रतियोगितामा नेपाली महिला टोलीले पहिलो पटक भारतलाई हराउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्