जनकपुरमा कोरोना पोजेटिभ भेटेपछि यहाँको माहौल त्रासमय



जनकपुरधाम: जनकपुरमा कोरोनो पोजेटिभ भेटेपछि यहाँको माहौल अचानक त्रासमय बनेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षिय र ३५ वर्षिय दुई जना पुरुष तथा मिथिला नगरपालिका १० की २५ वर्षिया एक महिला गरी तीनजनामा कोरोना पुष्टी भएको हो ।

जनकपुरमा गत बुधबार गरिएको स्वाब परिक्षण पश्चात ति दुबै पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो । तर सोही स्वाबलाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा पोजिटिभ आएको हो ।

जनकपुरमा भेटिएका दुईजना पुरुष मध्ये एक जना पत्रकार छन् भने अर्को पुस्तक पसल सञ्चालक हुन् । पुस्तक पसलका सञ्चालक ३५ बर्षिय उक्त पुरुष जनकपुरमा बस्दै आएपनि उनको स्थायी घर भने महोत्तरीको जलेश्वर नगरपालिका ३ मा छ ।

पछिल्लो पटक लकडाउन केहि खुकुलो भएपछि उनी एकआधा घण्टा आफ्नो पुस्तक पसल खोल्दै आएका थिए ।

त्यस्तै मिथिला नगरपालिका १० लालगढकी संक्रमित २५ बर्षिया महिला चैत १ गते भारतबाट नेपाल आएकी थिइन् । भारतबाट आएदेखि उनी आफ्नो श्रीमान र बच्चासँगै सेल्फ क्वारेन्टाइनमा बस्दै आईरहेकी थिइन् ।

उनको श्रीमान र बच्चाको रिपोर्ट नेगेटिभ आएको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए । संक्रमित तीनै जनालाई प्रादेशिक अस्पतालको हाताभित्र अवस्थित नर्सिङ्ग क्याम्पसमा सञ्चालित कोरोना विशेष अस्पतालको आइशोलेसन कक्षमा राखिएको छ ।

४० वर्षिय पत्रकार बस्ने जनकपुरको शिवचोक क्षेत्र र ३५ वर्षिय पुस्तक पसल सञ्चालक बस्ने पिडरिया माइस्थान क्षेत्र सिल गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्