दुई विद्यार्थी घाइते भएपछि वीपी राजमार्ग अवरुद्ध 



 सिन्धुली :  वीपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । बुधबार बिहान पढ्न हिंडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् ।

बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुंग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएका छन् ।

घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं पठाइएको र मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थीले दोषीलाई कारवाही, विद्यार्थीको उपचारको माग गर्दै सडकमा उत्रिएर राजमार्ग अबरुद्ध पारेका छन् ।

विद्यार्थीलाई ठक्कर दिएर फरार रहेको बा३च ६७५१ नंको सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । सुमो र सुमो चालकलाई सिन्धुलीमाढीबाट काठमाडौंतर्फ जाँदै गर्दा सिन्धुलीगढी नजिकबाट नियन्त्रणमा लिएको र आवश्यक कारवाही गरिनेसमेत उनले बताए ।

काठमाडौंबाट तराईका जिल्ला तथा तराईका जिल्लाबाट काठमाडौं हिंडेका सवारी सिन्धुलीमै रोकिएका छन् । विद्यार्थीले राजमार्ग अवरुद्ध पारेकाले सवारीसाधनलाई गन्तव्यतर्फ वैकल्पिक मार्गबाट पठाउने तयारी गरिरहेको प्रहरी उपरीक्षक सिंहले बताए । 

प्रतिक्रिया दिनुहोस्