कालीगण्डकी करीडोर निर्माण तीब्र, मजदुर र उपकरण थपिने 



म्याग्दी:  भारत र चीन जोड्ने सबैभन्दा छोटो दुरीको बहुचर्चित आयोजना  कालीगण्डकी करीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम तीब्र गति अघि बढाउने तयारी भएको छ । सडकखण्ड निर्माणमा मजदुर र उपकरण थप गर्ने आयोजनाको तयारी छ ।  अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानीमा बसेको आयोजना, सुरक्षा निकाय, स्थानीय तह र निर्माण व्यवसायीको समन्वय बैठकले सडक विस्तारको कामलाई तिब्रता दिन मजदुर र उपकरण थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

आयोजनालाई समयमै सम्पन्न गर्न ठेकेदार कम्पनिहरुले आवश्यक मेसिन, औजार र मजदुर संख्या बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । सडक विस्तारका लागि यातायातका साधन बन्द गर्ने यसअघिको निर्णय यथावत राख्ने र सोको पुनरावलोकनका लागि ठोस आधार तय गरि जिल्ला प्रशासन कार्यालयमा एक हप्ताभित्र पेश गर्ने निर्णय भएको छ । अहिले बिहान ७ देखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ साढे ६ बजेसम्म सवारी रोकेर आयोजनाको काम हुँदै आएको छ । 

बैठकमा आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर बेनी–जोमसोम सडकमध्ये शर्मा–गजुरमुखीले ठेक्का लिएको नारच्याङ–कोवाङ खण्डको ५२ प्रतिशत, शर्मा–युनाइटेड जेभिले ठेक्का लिएको गलेश्वर–नारच्याङ पुल सम्म ४० प्रतिशत र न्यौपाने–कोशी–पप्पु जेभीले ठेक्का लिएको कोवाङ–जोमसोम खण्डको चार किलोमिटर ग्राभेल भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्