दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान



भरतपुर : माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा तीन रुपैयाँ अनुदान दिन थालेको छ । अनुदान दिन थालेपछि व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको संख्या बढेको छ ।

उत्पादनका आधारमा अनुदानको कार्यक्रम सुरु गरेपछि व्यावसायिक रूपमा पशुपालन गर्नेको संख्या बढेको माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले बताए । माडीस्थित दुग्ध विकास संस्थानका दुई चिस्यान केन्द्रको तथ्यांकका अनुसार किसानलाई अनुदान प्रदान गर्न थालिएको हो । दूध उत्पादनका आधारमा ६ महिनामा १९ लाख रुपैयाँ अनुदान वितरण गरिएको उनले बताए ।

‘किसानले १ लाखसम्म अनुदान प्राप्त गरेका छन्,’ ढकालले भने । नगरपालिकाले किसानको आर्थिक अवस्था सुधार गर्न दूध उत्पादनमा विशेष जोड दिँदै आएको छ । यस वर्ष नगरपालिकाले बाख्राको खोर सुधार, बोयर बाख्रा खरिद र बंगुरको खोर सुधारका लागि पनि अनुदानका कार्यक्रम सञ्चालन गरेको छ ।

व्यावसायिक पशुपालनलाई दिगो बनाउन नगरपालिकाले यस वर्ष ३ सय बिघा जग्गा भाडामा दिएर घाँसखेतीसमेत सुरु गरेको नगरप्रमुख ढकालले बताए । गत आवमा माडीमा पशुपालनका लागि झन्डै ५६ लाख अनुदान प्रदान गरिएको थियो । सो अनुदान गाईभैंसीको गोठ सुधार, बाख्राको खोर सुधार, बंगुरको खोर सुधार, घाँसखेती, पशुको कृतिम गर्भाधानलगायतमा प्रदान गरिएको छ । यस वर्ष नगरपालिकाले पशुपालनको क्षेत्रमा २ करोड २८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सशर्त अनुदानतर्फ ८ लाख २० हजार र नगरपालिकाको तर्फबाट २ करोड १८ लाख विनियोजन गरिएको माडी नगरपालिकाका पशुपक्षी शाखा प्रमुख गोपाल अधिकारीले जानकारी दिए । ‘न्यून आयस्तर हुनेका लागि नगरपालिकाले ‘एकभाइ एक गाई’ कार्यक्रम सञ्चालन गरेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्