नयाँ मन्त्रीमण्डलले सार्वभौमसत्ताको रक्षा गर्छ : हरिरि



बेरूत: लेबनानका प्रधानमन्त्री साद हरिरिले नयाँ सरकारले लेबनानको सार्वभौमसत्ताको सुरक्षा गर्ने बताएका छन् । “नयाँ सरकारले लेबनानको सार्वभौमसत्ता रक्षाका लागि काम गर्नुका साथै देशको भूगोल, जुन आफ्नो अधिनबाहिर गएको छ, लाई आफ्नो नियन्त्रणमा ल्याउनका लागि कूटनीतिक रूपमा अघि बढ्नेछ,” हरिरिको भनाइलाई स्थानीय टेलिभिजन च्यानल एमटीभीले उद्धृत गरेको छ ।

प्रधानमन्त्री हरिरिले संसदको बैठकमा भने, “हामीले हाम्रो देशलाई शत्रु, जसले हाम्रो मातृभूमिको प्राकृतिक साधन, स्रोत र सम्पत्ति बिगार्ने दाउ लगाइरहेका छन्, को फन्दाबाट यसलाई जोगाउन कुनै कसर बाँकि राख्ने छैनौँ ।”उनले भने “सरकार क्षेत्रीय विवादमा तटस्थ बस्नेछ साथै यसले अन्य मुलुकसँगको सम्बन्ध विस्तार गर्दै युरोपेली युनियनसँग असल सम्बन्ध स्थापित गरेर अघि बढ्नेछ ।”

लेबनानले आर्थिक तथा राजनीतिक सुधार गरेर मुलुकको अर्थतन्त्रलाई जोगाउने सुनौलो अवसरलाई खेर नफाल्ने प्रधानमन्त्रीले बताए । सरकारले सेडार सम्मेलनबाट अनुमोदित ११ अर्ब अमेरिकी डलर देश विकासका लागि भित्र्याउन आवश्यक नीतिगत सुधार गरी यसलाई कार्यान्वयनमा लाने प्रतिबद्धता पनि जाहेर गरे । उनले सन् २०१९ का लागि बजेट अनुमोदन गराएर सरकार छिट्टै आर्थिक सुधारका लागि प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्