भारतबाट नेपाल आउनेहरुका कारण कोरोनाको जोखिम झन् बढ्यो



कैलाली : गत चैत २२ गते एकै दिन यहाँ तीन जनामा कोरोनाको सङ्क्रमण पुष्टि हुँदा सुदूरपश्चिम प्रदेश त्रसित बन्नुका साथै सिङ्गो मुलुकको ध्यान पश्चिम नेपालतर्फ तानियो ।

भारतबाट मात्रै एक लाख ४३ हजारभन्दा बढी नागरिक भित्रिएको सुदूरपश्चिममा विभिन्न चरणमा दुई महिलासहित पाँच जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो । भारतमा बढिरहेको कोरोना सङ्क्रमण र खुला सीमानाका भएको सुदूरपश्चिम अन्यभन्दा भारतबाटै आउनेबाट बढी जोखिम रहेको देखिन्छ ।

यहाँका पाँचै जना सङ्क्रमित भने निको भएर घर फर्किसकेका छन् । “भारतबाट आएका पनि ४०÷४५ दिन भइसक्यो”, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्र्पक व्यक्ति हेमराज जोशीले भने, “तर कोरोना परीक्षणलाई अझै व्यापक बनाउन जरुरी छ ।”

कैलालीको धनगढीमा पिसिआर मेशिनबाट जाँच भइरहेको भए पनि अन्य जिल्लामा पछिल्लो केही दिनयता आरडिटी जाँचमा कमी आएको छ । सुदूरपश्चिम प्रदेश सरकारले डोटी र बैतडीमा पनि पिसिआर मेशिन जडान गरी परीक्षण गर्ने विषय सम्भाव्यता अध्ययनमै समिति छ ।

मुलुकका अन्य प्रदेशमा कोरोनाको सङ्क्रमण फैलिरहेका बेला चार दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको उपचार गइरहेका धनगढीका महिलासमेत निको भएर घर फर्किसकेका छन् ।

यहाँ शुरुआतमा दुबईबाट आएका धनगढीका एक युवकमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि सङ्क्रमित युवाका भाउजूमा पनि सङ्क्रमण देखियो । केही दिनपछि भारतबाट फर्किएका कैलाली र कञ्चनपुरका दुई जनामा सङ्क्रमण देखिएको थियो भने कैलालीकै एक वृद्धमा समेत कोरोनाको सङ्क्रमण देखिएपछि सेती अस्पतालमा उपचार गराइएको थियो ।

मुलुकमा पहिलोपटक गत चैत १० गते कञ्चनपुरमा लकडाउन गर्ने निर्णय भएको थियो । स्थानीय प्रशासनले जोखिम नियन्त्रणका लागि गरेको लकडाउनको दोस्रो दिन सरकारले नै मुलुकभर लकडाउन गरेको हो । हाल कोरोनामुक्त रहेको सुदूरपश्चिम प्रदेशमा भारतीय सीमा क्षेत्रमा अलपत्र परेको नेपाली नागरिकको व्यवस्थापन मुख्य चुनौतीका रुपमा देखिएको छ ।

“हामीले दुई दिनमा भारतको वनबासा क्वारेन्टाइनमा ४५ दिन बिताएका २४२ लाई स्वदेश ल्यायौँ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले रासससित भने, “भारतले एक प्रदेशबाट अर्को प्रदेश जान खुकुलो बनाएपछि नेपाली पनि घर आउन सीमामा पुग्दैछन् ।”

दार्चुलादेखि कञ्चनपुरसम्म सीमाबाट लुकीछिपी आउने, ट्युब र पौडी खेलेर आउने क्रम अझै यथावत छ । सीमा सिल हुँदा पनि आउने क्रम नरोकिनु यहाँ कोरोना फैलिन सक्ने अर्को जोखिम रहेको स्थानीयको भनाइ छ । नौ जिल्लामध्ये सुदूरपश्चिमका तीन पहाडी र दुई तराईका गरी पाँच जिल्ला भारतसँग सीमा जोडिएका छन् ।

“धेरैले अलपत्र परेको खाना नपाएको पीडा सामाजिक सञ्जाल, टेलिफोनबाट सुनाइरहेका हुन्छन्”, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणप्रसाद उपाध्यायले भन्नुभयो, “अझै घर आउन चाहनेलाई ल्याउन सक्ने अवस्था छैन ।”

उता पहाडी सीमा जिल्लामा महाकाली नदीबाट अवैधरुपमा आएर नेपाल प्रवेश गर्नेबाट कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । “सतर्कता अपनाउनु अनिवार्य छ”, उनले भने, “भारतमा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढिरहँदा नेपाल प्रवेश गरेर सिधै घर जाँदा निकै जोखिम बढ्छ ।” भारतसँग सीमा जोडिएका बैतडीका छ स्थानमा सशस्त्र प्रहरीले अस्थायी पोष्ट बनाएर २४ घण्टा पहरा दिइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । बैतडीमा लकडाउन अवधिमा भारतबाट लुकीछिपी ४० जना भित्रिएका छन् ।

दार्चुलामा पनि अवैधरुपमा नेपाल भित्रिन नदिन सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सीमा क्षेत्रमा नौ स्थान सशस्त्रको पोष्ट खडा गरेर २४ सैँ घण्टा ड्युटी गरिरहेको छ तर महाकाली तरेर आउने क्रम दार्चुलामा पनि रोकिएको छैन ।

भारतको झुलाघाट, पिथौरागढ र धार्चुलामा क्वारेन्टाइनमा ३५ दिन बसेका दुई हजार ६९५ लाई यसअघि वैशाख १८ गते उद्धार गरी स्वदेश भित्र्याइएको थियो । बैतडीको झुलाघाट नाका र दार्चुलाको धार्चुला नाका भएर स्वदेश भित्रिएका उनीहरुमध्ये अधिकांश सुदूरपश्चिमका नागरिक हुन् ।

सुदूरपश्चिममा हालसम्म झण्डै साढे १८ हजारको कोरोना परीक्षण गरिएको छ । यहाँका ८८ स्थानीय तहमा ३८८ स्थानमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारसम्म क्वारेन्टाइनमा तीन हजारको हाराहारीमा बाहिरबाट आएका नागरिक बसिरहेको भए पनि सबैको परीक्षण भने भएको छैन ।

यहाँ प्रादेशिक र जिल्ला अस्पतालमा गरी नौवटै जिल्लामा आठ वटा भ्यान्टिलेटर र १६३ बेडको आइसोलेन कक्ष रहेको छ । धनगढी र भीमदत्तनगरमा ५०÷५० श्ययाको कोरोना अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन् । बैतडीको पुर्चौडी नगरपालिका–८ मा क्वारेन्टाइनमा बसेका नागरिकले समस्या भएको बताएका छन् । सो वडामा ७० जना क्वारेन्टाइनमा बसेको भए पनि नगरपालिकाले आठ वटा कम्बल र पाँच वटा म्याट मात्रै उपलब्ध गराएको पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए ।

आफूहरु भारतीय क्वारेन्टाइनमा समस्या झेलेर आएको र स्वदेशका क्वारेन्टाइनमा समेत समस्यामै बस्नुपरेको छ”, उनले भने, “चुहिने विद्यालयको भवनमा रात कटाउनु कठिन छ ।”

प्रतिक्रिया दिनुहोस्