जनयुद्ध दिवस: ओलीको अर्थपूर्ण अनुपस्थिति



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली’ कार्यक्रम गर्न पार्टी केन्द्रदेखि तल्लो तहसम्म सर्कुलर गरेको छ ।  त्यसैअनुसार पार्टी केन्द्रीय कार्यालय धुम्वाराही र प्रदेश, जिल्ला एवं जनवर्गीय संगठनहरूले पनि कार्यक्रम राखेका छन् ।

विगतमा ‘जनयुद्ध दिवस’ भनिए पनि आज हुने कार्यक्रमको नाम ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली’ राखिएको छ । पार्टी एकीकरण भएपछि पहिलो पटक केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्धको स्मृतिमा कार्यक्रम गर्न लागिएको हो । तर उक्त कार्यक्रममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागि हुने छैनन् ।

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल मात्र प्रमुख अतिथि हुनेछन् । धुम्बाराहीमा जनयुद्ध दिवस मनाइरहँदा प्रधानमन्त्री ओली भने रोजगार कार्यक्रमको घोषणा गरिरहेका हुनेछन् । जनयुद्धका शहीदप्रति श्रृद्धाञ्जली भनि राखिएको कार्यक्रममा ओलीको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा लिइएको छ । ओली माओवादी र सशस्त्र संघर्षका कट्टर आलोचक थिए । २०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गरेको थियो । यो दिनलाई माओवादीले वर्षेनी जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्