जातीय विभेदको आरोपमा सोलुखुम्बुमा एक महिला पक्राउ



सोलुखुम्बु : जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ ।

सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए ।

तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा सङ्गीतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

‘सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेको’ मीनबहादुरको जाहेरीमा उल्लेख छ ।

नेपालको संविधान २०७३ को भाग ३ को धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकबारे प्रष्ट उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्