चन्द्रागिरिमा लागुऔषधविरुद्ध सचेतना अभियान



काठमाडौं: काठमाडौंको चन्द्रागिरि नगरपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना अभियान सुरु भएको छ। चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न संघसंस्था मिलेर लागुऔषध दुरूपयोग नियन्त्रणका लागि उक्त अभियान थालेका हुन्।

दिनप्रतिदिन प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम थालिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए। सोही अभियानअन्तर्गत मंगलबार यहाँ विद्यार्थीलाई सचेतना दिने उद्देश्यले लागुऔषध नियन्त्रणसम्बन्धी अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ।

१६ विद्यालय सहभागी प्रतियोगितामा ज्ञानसुधा एकेडेमी, रिम्स स्कूल, न्यू होराइजन स्कूल र मातृ अरविन्द स्कूलका विद्यार्थी क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन्। क्रमशः सात हजार, पाँच हजार र तीन हजार पुरस्कार प्रदान गरिएको जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सुवेदीले जानकारी दिइन्।

यस क्रममा विभिन्न सचेतनामूलक कार्यक्रमसहित गृहमन्त्रालयबाट प्राप्त चेतनामूलक सामाग्रीसमेत वितरण गरिएको थियो। विसं २०६९ को अध्ययनमा नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या ९१ हजार ५३४ छ। वार्षिक ११ दशमलव ३६ प्रतिशतले प्रयोगतकर्ताको संख्या वृद्धि भएको अध्ययनमा पाइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका कर्मचारी खड्ग श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्