वडाध्यक्षले कुटेपछि १४ जिल्लाका प्राविधिक आन्दोलनमा



सिन्धुली: घ्याङ्लेख गाउँपालिका–५, शान्तेश्वरीका भूकम्पपीडितले इन्जिनियरले काम नगर्दा आफूहरुले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन्। पुनर्निर्माणमा संलग्न इन्जिनियरसहित प्राविधिकले यतिबेला सिन्धुलीसहित १४ भूकम्पप्रभावित जिल्लाका पुनर्निर्माणको काम ठप्प पारेका छन्। सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–५ वडामा कार्यरत सवइन्जिनियर रणबहादुर रानालाई घ्याङ्लेख गाउँपालिका–५ का वडाध्यक्ष विष्णुकुमार कर्माचार्यले कुटपिट गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित सबै प्राविधिक आन्दोलनमा उत्रेका हुन्।

माघ २४ गते वडाध्यक्ष कर्माचार्यले आफूलाई कुटपिट गरेको भन्दै प्राविधिक रानाले शान्तेश्वरीस्थित प्रहरीचौकीमा निविदेन दिएपछि प्राविधिक अहिले वडाध्यक्षलाई कारबाही हुनुपर्ने अडानमा छन्। जनप्रतिनिधिहरूले प्राविधिकले काम गरेनन् भनेर आराेप लगाइरहेका छन् भने प्राविधिकहरू वडाध्यक्षले कुटपिट गरेकाले काम गर्ने वातावरण नभएको बताउँदै आएका छन्। उता लाभग्राहीले भने घर बनाइए पनि इञ्जिनीयरका कारण किस्ता नपाएकाे गुनासाे गरेका छन्। शान्तेश्वरी जिल्लाको विकट उक्त वडाका ४ सय ५ भूकम्पपीडित जनप्रतिनिधि र कर्मचारीको आरोप प्रत्यारोपका कारण समस्यामा परेका छन्।

घटनाको वास्ताविकता बुझ्न गएका पत्रकारको टोलीलाई भूकम्पपीडितलाई विभिन्न बहानामा दुःख दिने, प्राविधिक गाउँमा नबस्नेलगायत समस्या रहेको भूकम्पपीडितले बताए। माघ २४ गते प्राविधिक रणबहादुर रानाले १५ भूकम्पपीडितको नामावली टाँसेपछि वडाध्यक्षसँग विवाद भएको भूकम्पपीडितको भनाइ छ। प्राविधिक रानाले घरको नमूना देखाइ सोही अनुसारको काठे घर बनाउन भूकम्पपीडितलाई नमूना दिएपछि लाभग्राहीको सूचीमा समावेस भएका १५ भूकम्पपीडितले काठको घर बनाएका थिए। 'तर, पछि रानाले नै ती घर पास नहुने भनेपछि वडाकार्यालयमा नै प्राविधिक र लाभग्राहीबीच विवाद सुरु भएको हो', प्रत्यक्षदर्शी स्थानीय कृष्णबहादुर घलानले भने।

'भूकम्पमा परेको घर बनाइयो, इन्जिनियरलाई घर हेरिदिन आग्रह गर्दा मान्नुभएन, फोटो खिचेर ल्याउनु भन्नुभयो, मैले फोटो ल्याएँ, पहिला त्यही फोटो हुन्छ भन्नुभयो, पछि तेस्रो पटकसम्म फोटो ल्याउँदा पनि घर पास भएन, एकप्रति फोटो धुलाएको एक सय रुपैयाँ पर्छ, फोटो खिच्दा मात्रै ३ हजार रुपैयाँ सकियो', घलानले भने, 'इन्जिनियरले घर पनि हेर्न नमानेपछि वडाध्यक्षले हामी जनप्रतिनिधि हाैं, तपाईंले जनतालाई दुःख दिन पाउनुहुन्न, समस्या के हो सल्टाउनुस् भनेपछि इन्जिनियर आफैं वडाध्यक्षलाई तह लगाउने भनेर यहाँबाट हिँड्नुभयो र रामपुर बजारमा गएर वडाध्यक्षले आफूलाई कुट्यो भन्नुभएछ। यो झुट हो, तर इन्जिनियरले हामीलाई दुःख दिएका छन्, कति दिन दुःख पाउने तपाईंहरुले नै न्याय दिनुपर्‍यो।'

'काठको घर बनाएर घर पास नहुने भन्ने सूची टाँसेपछि विवाद सुरु भएको हो', अर्का पीडित कमल कर्माचार्यले भने, 'वडाध्यक्षले प्राविधिकलाई काम गर्न भनेपछि विवाद सुरु भयो, प्राविधिकले एउटा कागज ल्याएर यसमा सही गर्न भन्नुभयो तर, वडाध्यक्षले म गर्दिन भनेपछि उहाँ कार्यालयबाट हिँड्नुभयो, म पनि काठको घरको फर्म भर्न आएको थिएँ, अहिलेसम्म घर बनाउन त परै भयो फारम नै भर्न पाइएको छैन, जनतालाई दुःख दिने, काम नगरिदिने, आन्दोलन मात्र गर्ने हो भने हामी पनि आन्दोलन गर्छौं।'

राजकुमार भोलन, हीरालाल श्रेष्ठ, रुपबहादुर विश्वकर्मा, धनबहादुर बल, सेतीमाया विश्वकर्मालगायत धेरै भूकम्पपीडितले प्राविधिकले काम नगरिदिँदा आफूहरु झन पीडित भएको गुनासो गरे।

वडाध्यक्ष कर्माचार्यले आफूले प्राविधिकलाई नकुटेको तर जनतालाई विभिन्न बहानामा दुःख नदिन जनताकै सामु भनेपछि प्राविधिकसँग आफ्नो सामान्य विवाद भएको बताए।

'जनताको काम अड्काएर दुःख नदिन आग्रह गर्दै भौगोलिक विकटताका कारण दिननै माया मारेर आएका भूकम्पपीडित छन्, के गर्दा सहज हुन्छ गर्नुस् भनेको थिएँ। त्यतिकैमा उहाँले एउटा कागज ल्याउनुभयो र भन्नुभयो- यसमा सही गरिदिनुस्', घटनाकाे बारेमा बताउँदै अध्यक्ष कर्माचार्यले भने, 'हेर्दा त्यो हाजिरी प्रमाणित रहेछ, त्यही पनि खाली थियो।तपाईंले काम नगरेको दिनको म हाजिरी प्रमाणित गर्न सक्दिन, एकै दिन पुस, माघ, फागुन, चैतसम्मको हाजिर प्रमाणित गर्न मैले मिल्दैन भनेपछि उहाँले मलाई र शान्तेश्वरी हल्लाइदिन्छु भनेर हिँड्नुभयो।' आन्दोलनमा उत्रेका प्राविधिकले निकास ननिक्लिए ३१ जिल्लाकै काम ठप्प पारेर आन्दोलन गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्