जनकपुरमा डकैती



डाकाको आक्रमणबाट घाइते अस्पतालमा उपचार गराउँदै ।

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाको वडा नं. १३ स्थित कभर्ड हलपछाडिको एउटा घरमा मंगलबार राति डकैती भएको छ । राति करबि एक बजे १०-१२ जनाको समूहमा आएका डाकाले स्थानीय शोभित राउतको घरबाट ५ लाख ५७ हजार नगदसहित मोबाइल र सुनको हनुमानी, नाकको नथिया लुटेर लगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

डाकाले धनमाल लुट्नुका साथै सहयोगका लागि पुगेका चारजनालाई घाइतेसमेत बनाएका छन् । घरेलु हतियारसहित आएका डाकाले झण्डै आधा घण्टासम्म लुटपाट गरेका थिए । त्यहाँबाट मुजेलिया प्रहरी चौकी डेढ किलोमिटर दूरीमा छ । 

राउतसँगै उनको घरमा डेरा गÞरी बसेका विकास साह र उनकी पत्नीसमेत चारजनालाई डाकाले टाउकोमा घरेलु हतियार प्रहार गरी घाइते बनाएका छन् । घाइतेको उपचार स्थानीय रामजानकी अस्पतालमा भइरहेको छ । पीडितको बयानका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्