नवजात शिशुको शव बरामद



जनकपुर : प्रदेश २ को राजधानी जनकपुरधामस्थित जनकपुर अञ्चल अस्प्तालको पछाडि फालिएको मृत अवस्थामा एक नवजात शिशु फेला परेको छ । 

बुधवार बिहान जनकपुर अञ्चल अस्पतालको पछाडिको झाडीमा नवजात शिशु मृत अवस्था फेला परेको हो । करीब छ महिनाको मृत नवजात शिशु फालिएको खबरले अस्पताल क्षेत्रमा कोलाहल मचेको थियो ।

एकाबिहानै बटुवाले हेरेपछि त्यस विषयमा प्रहरीलाई खबर गरेका थिए । नजिकै रहेका जानकी प्रहरी चौकीबाट गएका प्रहरी टोलीले शिशुको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको थियो ।

पछिल्ला केही दिनयता सोही स्थानमा कयौं नवजात शिशु फालिएको अवस्थामा फेला परिसकेको छ । घटनास्थलमा पुगेका प्रहरीले अवैध सम्बन्धबाट जन्मिएको सन्तानलाई गाउँसमाजको लोकलाजले बच्न फालेको हुनसक्ने बताएका छन् । त्यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । 

स्थानीय प्रशासनले निजी क्लिनिकहरुमा अवैध रुपमा भइरहेको गर्भपतन कार्य रोक्न सशक्त रुपमा लाग्ने बताएका छन् । अधिकार प्राप्त गर्भपतन केन्द्रहरु बाहेकमा भइरहेका गर्भपतन कार्यलाई रोक्न कडा रुपले अघि बढनुपर्ने स्थानीय प्रशासनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्