महोत्तरी : महोत्तरीको बर्दिवासमा ढुंगा बोकेको टिपर दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् । ढुंगा लोड गरिएको ना ३ ख नम्बरको टिपर बर्दिबासको मुख्य चोकमा दुर्घटनामा परेको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । वीपी राजमार्ग हुँदै बर्दिवास आउँदै गरेको ढुंगा लोड गरिएको टिपर अनियन्त्रित भई मुख्य चोकमा दुर्घटना भएको महोत्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिंहले बताए ।
गम्भीर घाइते बर्दिवास नगरपालिका ११ बस्ने ३० बर्षका मीनबहादुर थापालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको बर्दिवासस्थित जनसेवा अस्पताल र शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।
टिपरबाट खसेको ढुंगा लागेर राजमार्ग क्षेत्रमा हिंडिरहेका सर्वसाधारण घाइते भएका हुन् । दुर्घटनाका कारण पाँच वटा मोटरसाइकल र एउटा अटोरिक्सा पूर्ण रुपमा क्षति भएको छ ।
वीपी राजमार्ग हुँदै आउने सानाठूला सवारी साधन मुख्य चोकमा दुर्घटनाग्रस्त हुने गरेको छ ।