नेता खनाल–चिनियाँ राजदूत भेटवार्ता



काठमाडौं  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले आज खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।

साे अवसरमा नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको सम्बन्ध र आपसमा सहयोग हुँदै आएको बताए । उनले आगामी दिनमा चीन सरकार र जनताका तर्फबाट नेपालको समृद्धि र विकासका लागि अझ फराकिलो दायरामा सहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे । 

नेता खनालले नेपाल एक चीन नीतिमा दृढ रहेको र यो भूमिलाई चीनविरोधी क्रियाकलापमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेकाे उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। 

राजदूत यानछीले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गर्दै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धिमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्