नेता नेपालद्वारा अनाथआश्रमलाई सहयोगको वाचा



जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनकपुरस्थित अनाथ बालबालिकालाई कक्षा १२ सम्म आफूले पढाई दिने प्रतिबद्धता जनाएका छ्न ।

 जनकपुरधामस्थित सदगुरु कबिर अनाथ बालवत्सल्य आश्रममा रहेका बालबालिकाको अवस्था बारे बुधवार जानकारी लिन पुगेका पूर्वप्रधानमन्त्री नेपालले भने–‘यहाँ रहेका बालबालिकाको लालनपालनका लागि आफू विभिन्न निकायसँग समन्वय गराइदिनेछु । तर जहाँसम्म पढाईको कुरा हो कक्षा १२ सम्म पढाईको व्यवस्था म गरिदिन्छु ।’

नेता नेपालले समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराललाई बोलाएर सो अनाथ आश्रमलाई चाहिने जति सेवा परिषद् र विभिन्न संघ संस्थाबाट उपलब्ध गराई दिन आग्रह गरे । साथै उनले अनाथ आश्रमबाटै देश तथा विदेशका विभिन्न संघ संस्थाहरुलाई सो अनाथ आश्रममा रहेका बालबालिकाको लालनपालनका लागि खर्च जुटाई दिन आग्रह गरेका थिए ।

परिषद्का उपाध्यक्ष बरालले एक हप्तापछि यो अनाथ आश्रमको कानुनी कागजात हेरेर परिषद् र विभिन्न संघ संस्थाबाट हुने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

जनकपुरको ज्ञानकुपमा रहेको याज्ञवल्क्य संस्कृत विद्यापीठको दक्षिण–पश्चिमछेउमा सत्यनारायण आलोकले २०६६ सालदेखि अनाथ आश्रम चलाउंदै आएका छन् ।

बेवारिसे अवस्थामा फालिएका र बाबुआमा नभएका शिशु तथा बालबालिकालाई आश्रममै राखेर आलोकले आफ्नो निजी र विभिन्न संघ संस्थाको सहयोगमा पालनपोषण गर्दै आएका छन् । हाल सो अनाथ आश्रममा १३ जना बालबालिका छन् । जसमध्ये दुई जना काठमाडौंको निजी विद्यालयमा पढदछन् ।

महोत्तरीको विजलपुरा–३ घर भएका आलोक वि.सं. २०५७/२०५८ मा भक्तपुर, गुण्डुको उच्च माविमा शिक्षक थिए । त्यहाँबाट जनकपुरको विज्ञान अध्ययन केन्द्रमा पढाउन पुगेका उनी २०६३ मा योग साधना सिक्न भारतको इलाहावाद गएका थिए । त्यहाँबाट फर्केपछि आलोक २०६६ सालदेखि अनाथ आश्रम खोलेर समाज सेवामा लागेका छन् ।

अनाथ बालबालिकाको लालनपोषणमा लागेर उनले विवाह पनि गरेनन् । उनी भन्छन–‘अब त यही बालबालिकाको सेवा नै मेरो दुनिया हो । बाँचुन्जेल बालबालिकाकै सेवा गर्नेछु ।’

 

प्रतिक्रिया दिनुहोस्