गाउँपालिका प्रमुखको निधनमा पाँचथरका स्थानीय तहले दिए बिदा



फिदिम : पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्वाङको निधनमा शोक मनाउन बुधबार पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका फालेलुङ, याङवरक, हिलिहाङ, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेका हुन् ।

 

नेम्वाङको निधनले जिल्लालाई अपूरणीय क्षति पुगेका कारण शोक मनाउन बिदा दिने निर्णय गरिएको हिलिहाङ गाउँपालिकाका प्रमुख भुवानीप्रसाद लिङ्देनले जानकारी दिए । गत शनिबार फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा आयोजित कार्यक्रममा सम्बोधन गरेलगत्तै बेहोस भई ढलेका नेम्वाङको उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा निधन भएको थियो । नेम्वाङको बुधबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्