नार्कमा जागिर खान विकर्षण किन ?



काठमाडौँ : मुलुकमा बेराेजगारी समस्या गम्भीरै छ । कुनै सरकारी निकायमा पदपूर्तिकाे विज्ञापन निस्कँदा आवेदन दिनेकाे लामाे लाम हुन्छ तर यस्ताे एउटा सरकारी निकाय पनि छ, जहाँ विज्ञापन निकाल्दा आवेदनसम्म पनि पर्दैन । हाे, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले यस्तै समस्या भाेगेकाे छ । यही कारण नार्कमा प्राविधिक जनशक्तिको अभाव देखिएको छ । आवश्यक पर्ने प्राविधिक जनशक्ति आपूर्तिका लागि नार्कले आह्वान गर्दा पनि आवेदन नै नपर्ने समस्या छ । यसै कारण नार्कमा प्राविधिक जनशक्तिको अभाव देखिएको हो । 

गत वर्ष नार्कले जनशक्ति माग गर्दा बालीरोग विज्ञ, पशु अनुसन्धान विज्ञलगायतका उपसमूहमा आवेदन नै परेनन् । नार्कका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले एकातिर यी विषय अध्ययन गरेका विद्यार्थीको कमी र अर्कातिर अध्ययन गरेकाले पनि नार्कको सेवाप्रति आकर्षित नहुँदा विभिन्न उपसमूहमा आवेदन नपरेको जानकारी दिए । 

कृषिका क्षेत्रमा नयाँ अध्ययन र अनुसन्धान गर्ने संस्थामा जनशक्ति रिक्त भएका ठाउँमा पूर्ति नभएपछि कार्यक्रम प्रभावित हुने सम्भावना बढेको उनले बताए । 'नार्कको सेवाप्रति किन युवा वैज्ञानिक आकर्षित हुन सकेको छैनन्, यसतर्फ अध्ययन अनुसन्धान गरी सोही अनुरुपको कार्यक्रम तथा योजना ल्याउनुपर्ने खाँचो छ', उनले भने । 

चार सय छ वैज्ञानिकको दरबन्दी रहेको नार्कमा अहिले २ सय २५ जना कार्यरत छन् । कृषि वैज्ञानिकलाई आकर्षित गर्ने योजना नार्कले नबनाउँदा समस्या अझै थपिने पाैडेलले बताए । उनले भने, 'कृषि वैज्ञानिक जाने क्रम नरोकिने र नयाँ पनि नआउने हो भने अध्ययन अनुसन्धानमा ठूलो बाधा पुग्न सक्छ ।'

प्रतिक्रिया दिनुहोस्