कार्यकर्ताको गुनासोबीच ‘जनयुद्ध दिवस’



कैलाली : नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश समितिले प्रदेशका नौवटै जिल्लामा विभिन्न कार्यक्रम गरी ‘जनयुद्ध दिवस’ मनाएको छ । तत्कालीन नेकपा माओवादीले सशस्त्र सुरु भएको दिन १ फागुनमा यो दिवस मनाउने गरिएको छ । 

पार्टीले अघि सारको एजेन्डा संस्थागत र  सहिदप्रति संम्मान गर्न विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको नेकपा सुदूरपश्चिम समिति सदस्य उद्धव भट्टराईले बताए ।

युद्धका क्रममा अन्यायमा परेकालाई सरकारले न्याय दिनुपर्ने र उनीहरुका सपना साकार पार्न काम गर्नुपर्ने बझाङका पूर्वसांसद लालबहादुर रावलले बताए । नेकपाका केन्द्रीय सदस्य दीपक देवकोटाले तत्कालीन नेकपा माओवादी र एमाले एकीकरण भई बनेको नेकपाले ‘जनयुद्ध दिवस’ मनाइरहँदा पार्टीले तल्लो स्तरसम्मको एकता प्रक्रिया  पूरा नगरेको, पार्टीका नेताकार्यकर्तालाई भूमिकाविहीन बनाएको गुनासो गरे ।

सशस्त्र युद्धका क्रममा घाइते भएका, सहिदका परिवार अझै पनि समाजमा स्थापित नभएको कार्यकर्ताकोे गुनासो छ । अहिले माओवादीसमेत मिसिएर बनेको नेकपाको सरकार छ तर  जनता तथा सशस्त्र युद्धका  घाइतेका समस्या सम्बोधन गर्न नसकेको गुनासो सर्वत्र छ । नेकपाका नेताहरुले भने सरकारले जनपक्षीय कार्य गरिरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्