अख्तियारको नियन्त्रणबाट फरार असई सम्पर्कविहीन



ढल्केवर : अख्तियारको नियन्त्रणबाट फरार भएका महोत्तरीको औरही प्रहरी चौकीका असई रामनरेश साह अझै सम्पर्कमा आएका छैनन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएका कर्मचारीले मंगलबार असई साहलाई १० रुपैयाँ हजार घुस रकमसहित पक्राउ गरेका थिए । असईलाई पक्राउ गर्ने क्रममा अख्तियारका कर्मचारीले औरहीमै फर्निचर उद्योग चलाएर बसेका दिनेश साहलाई समेत पक्राउ गरेपछि स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले विरोध गरिरहैकै बखत मौका पाएर असई साह भाग्न सफल भएका थिए ।

गलत मान्छेलाई समाएको भन्दै स्थानीय अख्तियारका कर्मचारीमाथि जाइलागे थिए । त्यस क्रममा औरही बजारकोे अवस्था केही बेरका लागि तनावग्रस्त बनेको थियो ।

फरार भएकै बेलादेखि खोजी कार्य सुरु गरेको प्रहरीले बुधबार साँझसम्म पनि उनी फेला नपरेको जनाएको छ ।

 

असई साहको खोजीमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता खगेन्द्र खडकाले  बताए । यस विषयमा अख्तियारका कर्मचारीले भने केही बताउन चाहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्