देभभरीका सामुदायिक रेडियोकर्मीहरू सुर्खेतमा



सुर्खेत : देशैभरीका सामुदायिक रेडियोका प्रतिनिधिहरू सुर्खेतमा जम्मा भएका छन् । बुधबारदेखि सुरु भएको सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को सम्मेलनमा सहभागी हुन उनीहरू सुर्खेत पुगेका हुन् । सम्मेलनको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेका छन् । 

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले विश्वसनीय सूचनामा ध्यान दिन सबै रेडियोलाई आग्रह गरे । समाचार प्रसारण गर्ने नाममा अरूको चरित्र हत्या हुने गरी अविश्वसनीय सूचना प्रवाह भइरहेको भन्दै उनले आफ्नो विश्वसनीयता कायम राख्न रेडियोहरूलाई अनुरोध गरेका हुन् ।

‘सूचना दिने नाममा जबरजस्ती अरूको चरित्रहत्या गर्ने काम भइरहेको छ’ उनले भने, ‘सूचना प्रवाह गर्नुभन्दा पहिले दश पटक सोच्नुहोस्, बरु ढिलो जाँदा केही फरक पर्दैन । तर अविश्वसनीय सूचना जाँदा समाजमा भ्रम पैदा हुन्छ ।’ 

बुधबारदेखि सुरु भएको अकोरावको सम्मेलनमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले सामुदायिक रेडियोमा देखिएका चुनौतीका विषयमा छलफल गरी आगामी बाटो तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्