कर्मचारी र वकिलबीच कुटाकुट, दुई जना घाइते



काठमाडौं : त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा बुधबार दिउँसो कर्मचारी र कानुन व्यवसायीबीच कुटाकुट भएको छ । कुटाकुटमा उपरजिष्ट्रार हरिनारायण वेल्वासे र अधिवक्ता टीकाध्वज खड्का घाइते भएका छन् । 

नेपाल–चीन इकोनमिक एण्ड कल्चरल नामक कम्पनी दर्ता गर्ने विषयमा दुवै जनाबीच विवाद बढ्दै गएर कुटाकुटमा परिणत भएको थियो । घाइतेमध्ये बेलवासेको घुँडामा र अधिवक्ता खड्काको टाउकोमा चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताए । 

कल्चरल नामक कम्पनी दर्ता गर्न अधिवक्ताहरू गुणराज आचार्य र खड्का बिहान त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीको प्रबन्धपत्रमा उल्लेखित ‘चीन’ शब्द ऐनसँग बाझिएको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । 

कम्पनी रजिष्ट्रार कार्यालयमा कानुन तर्फका उपरजिष्ट्रार अर्जुनप्रसाद खनालले ऐनमा नै व्यवस्था नभएको अवस्थामा कम्पनी दर्ता हुन नसक्ने भनेपछि अधिवक्ता खड्का एक्कासि आक्रामक भएको बताए । 

उता कानुन व्यवसायीहरूले भने यसअघि पनि नेपाल–चीन नाम उल्लेख गरिएका कम्पनी दर्ता भइसकेको अवस्थामा नयाँ कम्पनी दर्ता गर्न अस्वीकार गरिएपछि विवाद बढेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्