मुख्यमन्त्री कप रनिङ्गशिल्ड सुरु



सुर्खेत : कर्णालीमा सर्वाधिक राशिको रनिङ्गशिल्ड प्रतियाेगिता सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा पुरुष मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु भएको हो । 

    

कर्णाली प्रदेशमा एक लाख माथि पुरस्कार राशि राखिएको भलिबल खेलको यो पहिलो प्रतियोगिता हो । सामाजिक विकास मन्त्रालयअन्तर्गत खेलकुद प्रतियोगिताका लागि विनियोजित बजेटबाट यस पटक नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि मुख्यमन्त्री रनिङ्गशिल्ड प्रतियोगिता आयोजना गरिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै मा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र शिक्षाका हिसाबले निकै पछाडि मानिएको कर्णालीलाई खेलकुदको क्षेत्रका रूपमा परिचित गराउने प्रतिबद्धता जनाए । 

‘कर्णालीमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा क्षमता देखाउन सक्ने खेलाडी छन्, गाउँमा लुकेर रहेका प्रतिभालाई व्यावसायिक खेलप्रति उत्साहित गराउन यो प्रतियोगिता आयोजना गरिएको हो’ उनले भने, ‘सुर्खेतमा मात्रै होइन, अब अन्तर्राष्ट्रिय स्तरमा समेत कर्णालीका खेलाडीको आवश्यकता यस प्रतियोगिताले दर्साउनेछ ।’ 

प्रदेश सरकार खेलकुदको विकासका लागि जिम्मेवार भएको बताउँदै उनले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गरे । 

    

प्रतियोगिताको पहिलो दिन जुम्लाले जाजरकोट विजयी भएका छन् । महिला तर्फ दैलेख कालिकोटले विजयी सुरुवात गरेका छन् । 

१० जिल्ला रहेको कर्णालीका प्रत्येक जिल्लाबाट एक÷एक महिला–पुरुष टिम सहभागी भएको प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड सहित नगद एक/एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै द्वितीयलाई ७५/७५ हजार र तृतीयलाई नगद ५०/५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्