गुरुकुलमा मुनामदन



विराटनगर : केही नदेखिने अँध्यारो छ । त्यत्तिकैमा एउटा आवाज आउँछ, ‘भाइ मुनाले गलत बाटो लिई । कहिल्यै फर्किएर नआउने गरी मावल गएकी छे ।’ 

मञ्चको एक कुनाबाट हल्का प्रकाश छरिन्छ र सबै दृश्य प्रष्ट देखिन थाल्छ । त्यति बेला तुलसीको मोठमा एक वृद्धालाई सेतो कपडा ओढाएर लडाइएको हुन्छ । एक महिला र मदन धुरुधुरु रोइरहेका छन् । मदन आमालाई आफू ल्हासाबाट आइपुगेकाले उठ्न बारम्बार आग्रह गरिरहेका छन् । 

एकाएक शून्यता छाउँछ । अँध्यारोसँगै  वरिपरि एकाग्र भएर बसेका अधिकांश सुँक्क–सुँक्क गर्न थाल्छन् । 

यो दृश्य विराटनगरको गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक मुनामदनको मञ्चन हो । वियोगान्त नाटकमा पात्रहरूले महाकाव्यको हरेक भूमिकालाई सशक्त रूपमा ज्वलन्त बनाएको देखिन्छ । 

नाटकमा  मुनाको चुलबुलेपन, मदनको गम्भीरता, मदनको दिदीको रोदन, हिमाली भेगमा मदनलाई सहयोग गर्ने भोटेको भूमिकामा सराहनीय छ । 

१ घण्टा २० मिनेटको नाटक हेर्नका लागि प्रदेश सरकार प्रमुख, मन्त्री, राजनीतिक दलका नेता, विद्यार्थीको बाक्लो उपस्थिति हुने गरेको छ । गत वर्ष फागुनमा मञ्चन भएको नाटक दोश्रोपटक हेर्न पुगेका प्रदेश सरकार प्रमुख प्रा.डा गोविन्द तुम्बाहाङले नाटक राम्रो भएको भन्दै पात्रहरूको सशक्त अभिनय रहेको बताए । 

 

विराट आदर्श साहित्यिक मञ्चद्धारा आयोजित नाटक माघ २२ गतेबाट सुरु भएको हो । सुरुआत केहीदिनसम्म दैनिक दुई पटक मञ्चन गरिएको नाटकको हाल दैनिक ४ सो प्रस्तुत हुँदै आएको मञ्चका सल्लाहकार मीनकुमार नवोदितले बताए । 

फागुन ४ गतेसम्म चल्ने नाटकको मुख्य पात्र मुनामा सरु कट्टेल, मदनमा लोकेश दंगाल, भोटेको पात्रमा मिलन चाम्लिङ, नाट्य रूपान्तरण कटवाल दीपक तथा निर्देशन सविन कट्टेलको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्