जनप्रतिनिधि नै अवैध उत्खननमा संलग्न, मोरङका कयौं बस्ती जोखिममा



विराटनगर : स्थानीय तहमा लामो समयदेखि कर्मचारीका भरमा चलेका बेला जनप्रतिनिधि आएपछि राम्रै होला भनेर जनता स्थानीय निर्वाचनमा हौसिए । विकास निर्माणले राम्रै फड्को मार्लान् र वर्षौदेखि अवरुद्ध कामले गति पाउलान् भन्ने आसमा जनताले मतदान गरे । 

तर, तिनै जनप्रतिनिधिका कारण असुरक्षित बन्नुपर्ने स्थिति आउला भन्ने कसले पो सोचेको हुन्छ र ? स्थानीय तह निर्वाचनमा जिताएका जनप्रतिनिधिकै दादागिरीका कारण अहिले मतदाता भने असुरक्षित बन्नु परिरहेको छ । जनप्रतिनिधिले जनताको सोचविपरीत गतिविधि गरिरहँदा मतदाता भने रमिते बनेर बस्नु परेको छ । 

यो विषय मोरङको बुढीगंगा गाउँपालिका–४ को बुढीखोला किनारको हो । जहाँ लामो समयदेखि जनप्रतिनिधिकै मिलेमतोमा खोलामा स्काभेटर र टिपर हालेर अवैध रूपमा उत्खनन गर्ने काम भइरहेको छ । 

जसले गर्दा दर्जनौं परिवारको बसोबास रहेका बस्ती जोखिममा परेका छन् भने नियमविपरीत भइरहेका कामको विरोध गर्दा जनप्रतिनिधिबाटै आउने विभिन्न खाले धाकधम्कीका कारण स्थानीय बासिन्दाले सुरक्षित महसुस गर्न सकिरहेका छैनन् । 

जनप्रतिनिधिकै प्रत्यक्ष संलग्नतामा अवैध उत्खनन भइरहेको कुराको विरोध नभएको भने हैन । स्थानीय बासिन्दाले नियम मिचेर उत्खनन नगर्न आग्रह पनि नगरेका हैनन् । तर, विभिन्न धाकधम्की आउन थालेपछि स्थानीय बासिन्दा तैं चुप, मै चुप बन्नुपर्ने अवस्था आएको छ । 

बुढीगंगा गाउँपालिका–४ का वडाध्यक्ष काशिम मियाँले स्काभेटर र दर्जनौं टिपर खोलामा हालेर अवैध उत्खनन गरिरहेका छन् । बुढीगंगा–४ र सुनसरीको दुहवी नगरपालिका भएर बग्ने बुढी खोला किनारमा लामो समयदेखि मियाँले दादागिरी शैलीमा अवैध रूपमा माटो उत्खनन गरेर बिक्री गरिरहेको स्थानीयको गुनासो छ । 

खोलाको बगरमै दुई बिघाभन्दा बढी ऐलानी जग्गाको माटो धमाधम खनेर मियाँले बिक्री गरिरहेका छन् । यस विषयमा आफूलाई कुनै जानकारी नआएको भन्दै गाउँपालिका भने पन्छिएको छ । यसले पनि वडाध्यक्ष मियाँका अगाडि गाउँपालिकाकै केही लाग्दैन भन्ने पुष्टि गरेको छ । 

मापदण्ड र नियम मिचेर दिनभर स्काभेटरले खन्ने र दर्जनौंको संख्यामा टिपर खोलामा छिरेर माटो ओसार्ने गरिरहे पनि नियमनकारी निकाय मौन छ । लामो समयदेखि माटो खन्ने क्रम जारी रहँदा त्यहाँ ठूलाठूला र गहिरा खाल्डा बनेका छन् । बर्खाको समयमा बाढी आउँदा खोलाले बस्ती बगाउने खतरा बढेको स्थानीय बासिन्दाले बताए । 

खोला किनारको झन्डै १० फिट अग्लो ढिस्को झारेर आफ्नो जग्गामा पर्ने माटो भन्दै मियाँले बिक्री गरिरहेका छन् । यसलाई स्थानीय बासिन्दाले निर्वाचनमा भएको खर्च उठाउने जनप्रतिनिधिको काइदाका रूपमा लिएका छन् । 

स्थानीय डम्बर बरालले नियमविपरीतको काम रोक्नका लागि पटकपटक आग्रह गर्दा पनि वडाध्यक्षले नसुनेको र गाउँपालिकासमेत मौन बसेको गुनासो गरे ।

उनले भने, ‘नियमविपरीत उत्खनन भयो भन्दा उल्टै विभिन्न धाकधम्की पो आउने गरेको छ । यस्ता धम्कीका कारण सबै गाउँलेले असुरक्षित महसुस गरेका छन् ।’ खोलाको बगरमा रहेको ऐलानी जग्गामा आफ्नो नम्बरी जग्गामा पर्ने भन्दै वडाध्यक्षले मनोमानी गरिरहेको बरालको गुनासो छ । 

अध्यक्ष मियाँले गोर्खा बु्रअरीको खोलाको बगरमा रहेको १८ बिघा जग्गा भाडामा लिएर उखुखेती गरेका छन् । त्यही उखुखेतीको आडमा खोलैसम्म टिपर जाने बाटो बनाएर अवैध उत्खनन गरिरहेको स्थानीयले बताए । 

बुढीगंगाका अध्यक्ष बालचन्द्र माझीले भने कोही पनि जनप्रतिनिधिले अवैध उत्खनन नगरेको दाबी गरे । ‘कोही कसैले उत्खनन गरेको भए गुनासो आउनुपर्ने हो । गाउँपालिकालाई पनि थाहा हुनुपर्ने हो,’ उनले भने, ‘अवैध उत्खननमा कोही जनप्रतिनिधि संलग्न रहेको पाइएमा छानबिन गर्छौं । गाउँपालिकाले भने कोही व्यक्तिलाई ऐलानी जग्गा कटान गर्ने अनुमति दिएको छैन ।’ 

गाउँपालिका अध्यक्ष माझीले यसो भनिरहँदा त्यहाँको अवस्था भने निकै उदेकलाग्दो छ । स्काभेटरलाई खन्न र टिपरलाई माटो ओसार्न भ्याइनभ्याइ छ । जसका कारण बुढीगंगा–४ र दुहबी नगरपालिकाका धेरै बस्ती जोखिममा परेका छन् । 

हेभी इक्युपमेन्टको प्रयोग गरेर बनाइएका ठूला र गहिरा खाल्डाका कारण बर्खायाममा बाढी आउँदा भूक्षयय भएर बस्ती बग्ने खतरा बढेको स्थानीयको गुनासो छ । 

वडाध्यक्ष मियाँले भने आफ्नो नम्बरी जग्गाको माटो बिक्री गरिरहेको दाबी गर्दै व्यक्तिले आफ्ना जग्गामा काम गर्दा कोही कतैबाट विरोध र अवरोध हुन नहुने जिकिर गरे ।

माटो कटान गरिएको ऐलानी जग्गाको छेउमै आफ्नो १८ बिघा जग्गा रहेको र त्यही जग्गाको माटो बिक्री गरेको उनको दाबी छ । उनले टिपरले आफूले बनाएको बाटो प्रयोग गर्दै माटो लैजाने गरेकाले प्रतिटिप दुई सय रुपैयाँ लिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्