न्यायाधीश बानियाँउपर छानबिन गर्न पत्राचार



काठमाडौं : घुसकाण्डमा मुछिएका काठमाडौंका जिल्ला न्यायाधीश बाबुकाजी बानियाँमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायपरिषद्समक्ष पत्राचार गरेको छ ।

केही दिनअघि पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरिएका काठमाडौं जिल्ला अदालतका नायबसुब्बा भोलानाथ चालिसेले जिल्ला न्यायाधीश बानियाँको नाम पोलेपछि अख्तियारले बुधबार न्यायपरिषद्समक्ष पत्राचार गरेको हो । नासु चालिसेउपर भने अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सवारी ज्यान मुद्दाका एक अभियुक्तको सजाय कम गरिदिने भन्दै पाँच लाख रुपैया घुस लिँदै गर्दा नासु चालिसे पक्राउ परेका थिए । अख्तियारको विशेष टोलीले नासु चालिसेलाई बबरमहलस्थित वन परिसरबाट पक्राउ गरेको थियो । चालिसेले न्यायाधीश बानियाँको सल्लाह र सहमतिमा उनैलाई दिन घुस रकम लिएको अख्तियारसमक्ष बयान दिएका थिए । 

राष्ट्रसेवक कर्मचारी र सार्वजनिक पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने अधिकार अख्तियारलाई भए पनि न्यायाधीशविरुद्ध अनुसन्धान गर्ने र मुुद्दा दर्ता गर्ने अधिकार अख्तियारलाई छैन । न्यायाधीशलाई कारबाही गर्ने निकाय न्यायपरिषद् हो । 

त्यसैले चालिसेको बयानलगायतका प्राप्त प्रमाण कागजातसहित अख्तियारले न्यायाधीश बानियाँविरुद्ध अनुसन्धान गर्न न्यायपरिषद्समक्ष पत्राचार गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाए् । 

त्यही घुसकाण्डमा न्यायाधीश बानियाँको नाम मुछिएपछि न्यायपरिषद्ले उनलाई झिकाएर अनुसन्धान सुरु गरिसकेको छ । परिषद्ले उनलाई परिषद् सचिवालयमा झिकाएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट दोषी देखिए कारबाही हुने परिषद् स्रोतले जनाएको छ ।

यता बरामद रकम पाँच लाख रुपैया बिगो कायम गरी अख्तियारले नासु चालिसेउपर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनलाई विगोबमोजिमको जरिवानासहित हदैसम्मको सजाय मागदाबी अख्तियारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्