आदित्य सप्लायर्सका सहनीविरुद्ध १७ करोड बिगो दाबीसहित मुद्दा



काठमाडौं : सम्बन्धित निकायमा फर्म दर्ता नगरी अवैध रुपमा चोरी पैठारीमा संलग्न आदित्य ट्रेड सप्लायर्सका सञ्चालक भारतीय नागरिक अमितकुमार सहनीउपर राजस्व अनुसन्धान विभागले १६ करोड ९८ लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ । 

फर्म दर्ता हुनुअघि भैरहवा क्षेत्रबाट चोरी पैठारीका मालसामानको गैरकर बिजक जारी गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर समेत राजस्व चुहावट गरी अवैध आर्थिक क्रियाकलापमा संलग्न भएको आरोपमा विभागले बुधबार सहनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

त्यस्तो अवैध क्रियाकलापबाट आर्जन गरेको सम्पत्ति सहनीले नेपालस्थित विभिन्न बैंकमा खाता खोली र आफ्नो तथा पारिवारिक सदस्यको नामबाट समेत रकम जम्मा गर्ने गरेको विभागले जनाएको छ । त्यस्तो रकम राष्ट्र बैंकले तोकको सीमाको सुविधाको दुरुपयोग गरी एटीएम लगायत माध्यमबाट भारतमा झिकेर चोरी पैठारीका सामानको भुक्तानी गरी विदेशी विनिमय अपचलन समेतको कसुर अपराध गरेको विभागको आरोप छ । 

अभियुक्त सहनीबाट आर्थिक बर्ष २०६७/०६८ देखि अघिल्लो आवसम्म भन्सार महसुलतर्फ नौ करोड ६१ लाख २६ हजार २०८, मूल्य अभिवृद्धि करतर्फ तीन करोड १३ लाख नौ हजार ६७४ र आयकरतर्फ दुई करोड २० लाख ७९ हजार ७८२ रुपैयाँ विभागले बिगो मागदावी गरेको छ ।

सो बिगो असुल गरी निजबाट हदैसम्मको जरिवाना २९ करोड ९० लाख ३१ हजार ३२८ तथा कैद सजाय र विदेशी विनिमयतर्फ दुई करोड तीन लाख ६७ हजार २६० बिगो कायम गरी तीन गुणासम्म अर्थात् छ करोड ११ लाख एक हजार ७८०रुपैयाँ जरिवानासहित सजाय मागदाबी गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्