अब घरमै बसेर उच्च शिक्षा पढ्न सकिने, कसरी हुन्छ पढाई?



काठमाडौँ: जगतबहादुर आलेमगरले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन्। उनी सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा पढाउँछन् । उनी पीजीडीई (पोस्ट ग्रयाजुएट डिप्लोमा इन डिस्टेन्स एन्ड ई–लर्निङ) पढ्दै छन् । यो स्नातकोत्तरसरहको एकवर्षे प्रोफेसनल कोर्स हो।

उनले पढ्दै गरेको कोर्स नेपाल खुला विश्वविद्यालय (एनओयू) को हो । करिब एक वर्षदेखि यो विश्वविद्यालयमा पठनपाठन भइरहेको छ । सरकारले २०७३ जेठमा प्राध्यापक लेखनाथ शर्मालाई उपकुलपति नियुक्त गरेपछि भौतिक, शैक्षिक, प्राविधिक पूर्वाधार तयार पारेर पठनपाठन सुरु गरिएको हो। सरकारले २०७२ मा नेपाल खुला विश्वविद्यालय ऐन जारी गरेर विश्वविद्यालय स्थापनाको बाटो खोलेको थियो। 

आलेमगर यो विश्वविद्यालय सञ्चालनमा आएपछि पहिलो ब्याचका विद्यार्थी हुन् । उनीजस्तै ६ सय ३१ विद्यार्थी एनओयूमा भर्ना भएर पोस्ट ग्रयाजुएट डिप्लोमा, मास्टर्स र एमफिलका कोर्स भर्चुअल कक्षामार्फत पढ्दै छन्। उपकुलपति शर्माका अनुसार पहिलो सेमेस्टरमा भर्ना भएका ६ जनाले बीचैमा पढाइ छाडेका छन्। एनओयूअन्तर्गत सामाजिक तथा शिक्षाशास्त्र, व्यवस्थापन र कानुन, विज्ञान, स्वास्थ्य र प्रविधि गरी तीन संकाय छन्।

यी संकायअन्तर्गत १५ वटा कार्यक्रम सञ्चालन गरिएको छ । एकवर्षे कोर्सअन्तर्गत डिप्लोमा इन लाइब्रेरी इन्फर्मेसन म्यानेजमेन्ट र पीजीडी इन ई–लर्निङ छन् । सामाजिक संकायमा डेढवर्षे एमफिलअन्तर्गत अर्थशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्र छन्। शिक्षाशास्त्र संकायअन्तर्गत एमफिलमा नेपाली, अंग्रेजी, गणित, शिक्षा, स्वास्थ्य र समाज विज्ञान छन् । दुईवर्षे कोर्समा मास्टर्स इन ई–गभर्नेन्स पढाइ भएको छ भने डेढवर्षे एमफिल इन आईसीटी पढाइन्छ ।

६ महिनाको एक सेमेस्टर हुन्छ । एकवर्षे कोर्स पढ्नेले कम्तीमा ३० क्रेडिट आवरको दुई सेमेस्टर पढेर परीक्षा दिनुपर्छ । दुईवर्षे कोर्सले ६३ क्रेडिट आवर र एमफिल आईसीटीको ३९ क्रेडिट आवर छ।  दैनिक विद्यालय जाने, विद्यार्थीलाई पढाउने काम जारी छ,’ दोस्रो सेमेस्टर पढ्दै गरेका आलेमगर भन्छन्, ‘चाहेको विषय घरमै बसेर पढ्न पनि पाएको छु।’

हरेक आइतबार, सोमबार र मंगलबार साँझ ६ बजेदेखि ९ बजेसम्म अनलाइनमार्फत् पढाइ हुन्छ । ल्यापटप, डेस्कटप कम्प्युटर वा एन्ड्रोइड मोबाइलमा विश्वविद्यालयबाट कक्षा सञ्चालन गर्न एलएमएस (लर्निङ म्यानेजमेन्ट सिस्टम) र ‘मुडल एप’ जोडिएको छ। प्रत्येक विद्यार्थीको आफ्नै आईडी र पासवर्ड हालेपछि मुडलमा पाँच विषयको सिलेबल्स र कोर्सहरू खुल्छन् । विश्वविद्यालयले उपलब्ध गराएको आईडीमार्फत विद्यार्थी जहाँसुकै बसेर पनि तोकिएको समयभित्र कक्षामा उपस्थित हुन सक्छ।

मुडलभित्रको अनलाइन डिस्कसन फोरम, स्काइप फर बिजनेस, च्याट रुममार्फत विद्यार्थी–शिक्षक कुराकानी गर्छन् । छलफल हुन्छ । अफलाइन सन्देश प्रवाह भइरहन्छ । आलोपालो प्रश्न राख्छन् । जिज्ञासा राख्छन् । पियर रिभ्यु गर्छन् । पियर इभ्यालुएसन हुन्छ। असाइनमेन्ट दिइन्छ, लिइन्छ । हरेकको इन्टरनल असाइनमेन्टबापत ४० प्रतिशत अनलाइन मूल्यांकन हुन्छ । बाँकी ६० प्रतिशतको तोकिएको केन्द्रमा पुगेर लिखित परीक्षा दिनुपर्छ । खुला पढाइ भएकाले विद्यार्थीले सबै विषय एकै सेमेस्टरमा पास गर्नैपर्ने बाध्यता नहुने खवर कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्