बैंकलाई चेतावनी : हस्तक्षेप गर्न नपरोस्



बनेपा : अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरको उतारचढाव आफैं मिलाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्। वित्तीय तरलता र ब्याजदरको उतारचढाव नियन्त्रण गर्न सरकारलाई बाध्य नबनाउन उनले चेतावनी दिए।

बुधबार काभ्रेको बनेपा नगरपालिका नालास्थित हेस्टर बायोसाइन्सेज नेपाल कम्पनीको उद्घाटन कार्यक्रममा अर्थमन्त्रीले सुरक्षित लगानीका लागि तरलता सिर्जना गर्न आग्रह गरे। वित्तीय तरलता र ब्याजदरको उतारचढाव जस्ता समस्याको समधान गर्न सरकार नीतिगत रुपमा लागिसकेकोले बैंक तथा वित्तीय संस्था आफैंले अरु विषय मिलाउनुपर्ने उनको भनाई छ।  

वित्तीय तरलता, ब्याजदरमा उतारचढाव लगायतका समस्याको समाधान गर्न सरकार लागिसको जनाउँदै उनले भने- 'तर बैंकमा हुने गरेको ब्याजदरको तलमाथि आफैं मिलाउनुहोस्। सरकारलाई सो विषयमा चलाउन बाध्य नबनाउनुहोस्।’हेस्टर बायोसाइन्सेज नेपाल कम्पनीको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित अर्थमन्त्री त्यहाँ पुगेका थिए।

अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थाहरूलाई छिटो नाफा कमाउन छोड्न पनि आग्रह गरेको खवर अन्नपुर्णमा छ । ‘बैंक र व्यवसाय व्यवसायीहरूकै हो। बैंकवालाहरूले असमायिक नाफा कमाउन छाड्नुहोस्', उनले भने, 'ब्याजदरमा स्थिरता तथा दीर्घकालीन र सुरक्षित लगानीका लागि तरलताको सिर्जना नगर्नुहोस्, सरकार तपाईँहरुको काममा साथ दिन्छ।’

अर्थमन्त्रीले स्वदेशी तथा विदेशी लागानी सुरक्षित गर्ने जिम्मा सरकारको भएकाले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। ‘आर्थिक नीति, एकीकृत कर प्रणाली, स्थानीय सरकार दक्ष जनशक्तिको उत्पादन भएकाले स्वदेशी तथा विदेशी लगानीकर्ता संरक्षित छन्’, उनले थपे, ‘निर्यात उन्मुख उद्यम सञ्चालनमा प्राथमिकता दिँदै ठूला लागानीकर्तालाई सरकारले एकद्वार सेवासुविधा दिने तयारी गरिसकेको छ। लगानीकर्तालाई सरकारसँग विश्वास जगाउँदै लगानीको वातावरण तयार गरेका छौँ।’

प्रतिक्रिया दिनुहोस्