थाक्सिन शिनावात्राको पार्टी विघटनको तयारी, कारण यस्तो



बैंकक:  राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाईल्याण्डको एउटा पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाई रक्षा चार्ट पार्टी’ लाई विघटनका लागि प्रक्रिया अगाडि बढाएको हो ।

आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ । उनकै प्रभावमा परेर रक्षा चार्टको तर्फबाट थाई राजकुमारी उबोलरतनाले केही दिन अगाडि प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । उनको घोषणाप्रति उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएकी थिइन् भने उनले आपत्ति जनाएपछि निर्वाचन आयोगले उनलाई उम्मेदवार बन्न आयोग्य घोषणा गरेको थियो ।

राजाको असन्तुष्टी र आयोगको निर्णयपछि राजकुमारी उबोलरतनाले पनि कमजोरी भएको स्वीकार गर्दै क्षमा याचना गरेकी छन् । उनले क्षमायाचना गरेसँगै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाउन खोजेको पार्टीलाई विघटनको प्रक्रिया थालेको हो । शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुन विपरित भएकाले त्यस्तो कार्यमा संलग्न रक्षा चार्टलाई विघटन गर्ने प्रक्रिया सुरु गर्नु परेको आयोगका अधिकारीको भनाइ छ ।

आउदो मार्च २४ मा निर्वाचन हुनलागेकाले त्यो भन्दा अगाडि नै अदालतले यस विषयमा निर्णय गर्नु पर्ने भएको छ । अदालतले विघटन गर्ने निर्णय गरेमा यसले सिनावात्रा परिवार र सो पार्टीले अझ लामो समय प्रतिवन्ध भोग्नु पर्ने छ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन । सैन्य विद्रोहपछि पदच्युत भई अहिले निर्वासित जीवन विताईरहनु भएका शिनावात्रालाई अहिलेको सत्ता पक्षले निषेध गर्ने रणनीतिको रुपमा यो विषयलाई अगाडि सारेको टिप्पणी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्