च्याम्पियन्स लिग: रियल म्याड्रिड र टोट्टनहामको जित



लन्डन : च्याम्पियन्स लिग फुटबलको बिहीबार बिहान भएको प्रिक्वार्टरफाइनलको पहिलो लेग खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङ्लिस क्लब टोट्टनहामले जित हात पारेका छन् । रियल म्याड्रिडले डच क्लब आयाक्सलाई उसैको मैदानमा २—१ गोलले हरायो । टोट्टनहामले भने घरेलु मैदानको फाइदा उठाउँदै जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डमाथि ३—० गोलको सजिलो जित हात पार्यो । रियल म्याड्रिड र आयाक्सबीचको प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल दोस्रो हाफमा भएका थिए ।

निर्धारित समयको ६०औं मिनेटमा अनुभवी खेलाडी करिम बेन्जेमाले रियल म्याड्रिडका लागि पहिलो गोल गरेका थिए । ७५औं मिनेटमा घरेलु टोलीका आयाक्सका हकिम जियचले गोल गर्दै खेललाई १—१ को बराबरीमा पुर्‍याएका थिए । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि मार्को एसेन्सियोले निर्णायक गोल गर्दै रियल म्याड्रिडलाई महत्वपूर्ण जित दिलाए । रियल म्याड्रिडको जितमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको पनि महत्वपूर्ण हात रह्यो । रियल म्याड्रिडविरुद्घ सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको आयाक्सका निकोलस ताग्लियाफिकोले गरेको एउटा गोललाई भीएआर प्रविधिले मान्यता नदिएपछि रियल म्याड्रिडको भाग्य चम्किएको थियो । च्याम्पियन्स लिगमा पहिलो पटक कुनै पनि गोललाई भीएआर प्रविधिले मान्यता नदिएको हो ।

यसैगरी आयाक्सले च्याम्पियन्स लिगको नकआउट चरणमा घरेलु मैदानमा खेलिएका पछिल्ला ६ मध्ये एउटा खेलमा पनि जित हात पार्न सकेको छैन । यस अवधिमा आयाक्स तीन खेलमा पराजित भएको छ भने तीन खेल बराबरीमा सकिएको छ ।आयाक्सले पछिल्लो पटक सन् १९९६ को मार्चमा च्याम्पियन्स लिगको नकआउट चरणमा घरेलु मैदानमा खेलिएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई हराएको थियो । रियल म्याड्रिडका करिम बेन्जेमाले च्याम्पियन्स लिगको आयाक्सविरुद्धको पछिल्ला ६ खेलमा गोलका लागि कुनै न कुनै योगदान गरेका छन् । यसबीचमा उनले टोलीका लागि चार गोल आफैले गरेका छन् भने चार गोलका लागि पास उपलब्ध गराएका छन् ।

यसैगरी बोरुसिया डर्टमन्डविरुद्धको खेलमा टोट्टनहामले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो । ४७औं मिनेटमा ह्युङ मिन सनले टोट्टनहामलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको अन्त्यतिर चार मिनेटको बीचमा टोट्टनहामले थप दुई गोल गरेको थियो । खेलको ८३औं मिनेटमा जन भर्टोङ्घनले टोलीको अग्रता दोब्बर बनाएका थिए । ८६औं मिनेटमा फर्नान्डो लोरेन्टले अर्को गोल थप्दै घरेलु मैदानमा टोट्टनहामलाई सजिलो जित दिलाएका थिए । उनले परिवर्तित खेलाडीको रुपमा मैदानभित्र प्रवेश गरेको तेस्रो मिनेटमै गोल गरेका हुन् । प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेल मार्च ५ तारिखमा बोरुसिया डर्टमन्डको घरेलु मैदानमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्