गाई फार्मले फेरेको जीवन



बेझाड: सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य पाल्पाको रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ। 'आफ्नो परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए', आफ्ना सुरुवाती दिन सम्झिँदै गैरेले भनिन्। कसैको सहयोग र साथ नपाएपछि उनले लालपुर्जा बैंकमा धितो राखेर नवलपरासीबाट ८० हजारमा होलस्टिन र जर्सी जातका गाई खरिद गरेर व्यवसाय सुरु गरिन्। गोठमा गाई बाँध्न थालेको दिनदेखि आम्दानी गर्ने गतिलो माध्यम बनेको उनले जानकारी दिइन्।

दूध बिक्रीबाट राम्रो आम्दानी हुँदै गएपछि व्यवस्थित गोठ निर्माण र गाईको सङ्ख्या पनि थप गर्दै जाँदा अहिले उनको फार्ममा ६ वटा माउ गाई र ६ वटा कोरली बाँच्छी छन्। 'चार गाई ब्याउने छन्, अहिले दुई वटा दुहुना गाईबाट ३० देखि ३५ लिटरसम्म दूध उत्पादन भइरहेको छ', गैरेले भनिन्। दूध बिक्रीबाट खर्च कटाएर मासिक ३५ हजार रुपैयाँ बराबर आम्दानी हुनेगरेको गैरे बताउँछिन्। दूध बिक्रीका लागि बजार सहज भएकाले पनि व्यवसायमा हौसला झन बढ्दै गएको गैरेले बताइन्। प्रतिलिटर ५५ रुपैयाँमा दूध बिक्री भइरहेको छ। 'पहिले निकै दुःख थियो, आयस्रोत नहुँदा गाईपालन व्यवसाय सुरु गरेपछि अहिले दिनहुँ हातमा दाम परिरहेको छ', सन्तुष्टिको लामो श्वास फेर्दै गैरेले भनिन्। गैरे जिल्लामै नमूना गाई फार्म सञ्चालन गर्ने एक अगुवा महिला कृषक हुन्।

७ लाख रुपैयाँ खर्चिएर व्यवसाय सुरु गरेकोमा यसलाई विस्तार गर्दै जाँदा अहिलेसम्म १५ लाख रुपैयाँ जति लगानी भइसकेको छ उनको गोठमा। गैरले केही रकम आवश्यक परेका बेला समाजमा ऋण माग्दा पैसा सापटी नदिनेका अगाडि अहिले अरूलाई ऋण दिनसक्ने भएकाे बताइन्। '५ जनाको परिवार अहिले सुखसँग पाल्न, घर व्यवहार चलाउन र दुई छोरालाई उच्च शिक्षा पढाउन सजिलो भएको छ', उनको भनाइ छ। गोठको क्षेत्रफल बढाएर ५०/६० वटा सम्म गाई पाल्ने लक्ष्य रहेको उनले जानकारी दिइन्। 'मेहनत गरियो भने अवस्य पनि सफलता मिल्दो रहेछ भन्ने अनुभव म आफैँले लिएकी छु', गैरेको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्