चितवनमा एउटै किसानले बेचे १० लाखको गुलाब



चितवन: पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ ।

गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा किसानले भने तीन महीनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् । पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गर्नुभएका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले तीन महीनाको अवधिमा रु १० लाखको फूल बिक्री गरे । रु १० लाखको गुलाब बिक्री गर्दा खर्च कटाएर रु तीन लाख फाइदा भएको बताए । दैनिक एक हजार देखि एक हजार २०० स्टिक गुलाब उत्पादन हुने गरेको उनले बताए ।

प्रणय दिवसको अवसरमा चितवनमा मात्र २० हजार स्टीक गुलाबको माग रहेको फ्लोरिकल्चर एशोसियशन नेपाल चितवन शाखाका अध्यक्षसमेत रहेका उनको भनाइ छ । बिरुवा रोपेको छ महिनाबाट चार वर्षसम्म उत्पादन लिन सकिने गुलाबको उत्पादन मंसिरमा थोरै भए पनि पुस र माघमा भने राम्रो उत्पादन भएको उनले बताए । विदेशबाट ठूलो परिमाणमा गुलाब आयात भइरहँदा पनि राज्यले गुलाब खेतीतर्फ ध्यान नदिएको पन्तको गुनासो थियो ।

चितवनमा गुलाबखेती गर्ने किसान न्यून छन् । नारायणगढमा गुलाबलगायत फूलको व्यापार गर्ने आधा दर्जन पसल छन् । गुलाबको फूल घर तथा होटलको सजावट, विवाह, जन्मदिनलगायत विभिन्न शुभकार्यमा प्रयोग गरिन्छ । नेपालमा वैशाखदेखि मङ्सिरसम्म स्वदेशी उत्पादनले गुलाबको माग धान्ने गरे पनि यसबाहेकको अवधिमा भारतलगायत देशवाट आयात हुने गरेको छ । पन्तले गुलाबसँगै गोदावरी र ग्ल्याडिओलस फूलको खेती गरेका छन् । उनले उत्पादन गरेका फूल चितवन, पोखरा र काठमाडौँलगायतका शहरमा खपत हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्