महोत्तरीका क्रसर बन्द गराइने



ढल्केवर : जिल्ला समन्वय समिति महोत्तरीले जिल्लाभित्र सञ्चालनमा रहेका सबै क्रसर उद्योग बन्द गराउने निर्णय गरेको छ । क्रसर उद्योगका कारण अवैध नदी उत्खनन बढेको निष्कर्ष निकाल्दै समितिले यस्तो निर्णय गरेको हो ।

 

स्थलगत अनुगमन गर्दा जिल्लामा नदीजन्य पदार्थको दोहन तथा अवैध उत्खनन भइरहेको भेटिएपछि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले क्रसर उद्योग बन्द गराउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रवक्ता सुदीपकुमार झाले जानकारी दिए ।

 

गत पुस १० गते बसेको अनुगमन समिति बैठकले क्रसर उद्योग र स्थानीय तहहरुलाई २०७५०७६ मा नदीजन्य पदार्थको ठेक्का प्रक्रिया, राजस्व असुलीको प्रक्रिया र क्रसर उद्योग दर्ता, नवीकरणलगायतका सम्पुर्ण विवरण ७ दिनभित्र जिल्ला समन्वय समितिको कार्यालयमा पठाउन परिपत्र गरे पनि अहिलेसम्म कुनै स्थानीय तह र उद्योगले पत्रको जवाफ नदिएकाले उद्योग बन्द गराउने निर्णय गरेको समन्वय समितिले जनाएको छ ।

 

जिल्ला समन्वय समितिको तथ्यांकमा ६ वटा क्रसर उद्योग सञ्चालनमा रहेको देखिए पनि हाल जिल्लामा ५० भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् । उद्योग बन्द गराउने कार्यले सरोकारवाला र आम जनतालाई पर्न गएको असरप्रति समितिले क्षमा माग्दै अवैध उत्खनन बन्द गराउन सबैसँग अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्