माग सुनुवाइ नभएपछि चक्काजाम गर्ने कांग्रेस निर्णय



कैलाली : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरको दक्षिणी भेगका विभिन्न समस्या समाधानको माग राख्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको १२ दिन बित्दा समेत चासो नदिइएको भन्दै शुक्रबार २ घन्टे चक्काजाम गर्ने जनाएको छ ।

नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ को आयोजनामा मंगलबार लालझाडीमा बसेको बैठकले शुक्रबार दक्षिणी क्षेत्रका मुख्य नाका र बजारमा २ घन्टा चक्काजाम गर्ने निर्णय गरेको हो ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्ञापनपत्र बुझ्दै ३ दिनभित्र समस्या समाधान गर्ने बताए पनि कुनै पहल नगरिएपछि आन्दोलनमा उत्रनुपरेको कांग्रेस नेता दिवानसिंह बिष्टले बताए ।  

कञ्चनपुरको दक्षिणी क्षेत्रमा स्थानीय निकायले गर्दै आएको अनियमितता, ढिलासुस्ती र बेथिति नियन्त्रण माग गर्दै कांग्रेसले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । दक्षिणी क्षेत्रको कैलाली कञ्चपुरको प्रवेशद्वार डोकेबजार, पुनर्वास, बेलौरी र बेलडाँडीमा शुक्रबार दुई घण्टा चक्काजाम गरिने कांग्रेसले जनाएको छ । 

दक्षिणी क्षेत्रमा भइरहेको सीमा अतिक्रमण, उखु कृषकका समस्या र स्थानीय निकायमा भइरहेको लापरबाही नियन्त्रणमा प्रदेश सरकार र केन्द्र सरकार मौन देखिएकाले आन्दोलित हुनुपर्ने अबस्था देखिएको कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले जनाएको छ । मंगलबार लालझाडी गाउँपालिकामा बसेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को घुम्ती बैठकले लालझाडी गाउँपालिकामा भइरहेको अनियमितताबारे सचेत बनाउन फागुन १७ गते विरोधसभा गर्ने निर्णय गरेको छ ।

 

स्थानीय निकायले विकास निर्माणका कार्यमा देखाएको ढिलासुस्ती र अनियमितता रोक्न खबरदारीमा लागेको कांग्रेस क्षेत्र नम्बर १ ले घुम्ती बैठक सञ्चालन गर्दै आएको छ । आउँदो फागुन ११ गते बेलडाँडीमा बैठक राख्नेसमेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्