पोषण कार्यक्रममा प्रदेश २ पूरै समेट्न माग



जनकपुरधाम : सरोकारवालाले प्रदेश नं. २ का सबै स्थानीय तहमा बहुक्षेत्रीय पोषणसम्बन्धी कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार राष्ट्रिय योजना आयोग र संघीय मामिला तथा प्रशासन मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा सञ्चालित बहुक्षेत्रीय पोषण योजना प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीले प्रदेश नं. २ मा कुपोषणको प्रभाव बढी रहेको पनि औंल्याए ।

प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशको सबभन्दा बढी कुपोषणले प्रभावित जिल्ला सिरहा भएको बताए । तर सोही जिल्लालाई पोषण योजनामा छुटाइएको उनले गुनासो गरे । उनले प्रदेशको आगामी बजेटमा सबै तह समेटिने गरी बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई समन्वय गर्न आग्रह गरे ।

संघीय मामिला तथा प्रशासन मन्त्रालयका उपसचिव डिलाराम पन्थीले देश र विभिन्न प्रदेशमा बहुक्षेत्रीय पोषणको अवस्था र कार्यक्रम सञ्चालनबारे जानकारी दिएका थिए । देशका ३० वटा जिल्लाका ३ सय ८ स्थानीय तहमा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम चालु छ । प्रदेश नं. २ को सिरहाबाहेक सबै जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराइएको थियो ।

प्रदेशका तर्फबाट नीति आयोगका सदस्य डा. सुरेन्द्र झाले प्रदेशमा पोषणको अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राज्यमन्त्रीद्वय उषा यादव, अभिराम शर्मासहित प्रदेश मन्त्रालयका सचिव, पदाधिकारी र कर्मचारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्