आधुनिक डिजेका कारण विस्थापित हुँदै बैण्डबाजा



जनकपुर :  अरुको खेतवारीमा ज्यालामजदुरी गरेर परिवार चलाउने मधेसका केही मधेसी दलितहरुको राम्रो आम्दानीको स्रोत मानिन्छ बैण्डबाजा । विवाहको मौसम बढेसँगै उनीहरु ज्यालामजदुरी छाडेर बैण्डबाजामा लाग्छन् ।

मधेसको विवाहमा अनिवार्य मानिएको बैण्डवाजा आधुनिक वाद्ययन्त्रका कारण ओझेलमा पर्दै गएपछि विस्थापित हुने खतरा बढेको छ । मधेसका ग्रामिण भेगमा अहिले वैण्डवाजाको साटो डिजे (साउण्डबक्स) लाने प्रचलन बढेको छ ।

डिजे (आधुनिक वाद्ययन्त्र, साउण्डबक्स)का कारण बैण्डबाजा बजाउनेहरुको महत्व घटेको महशुस गरेका छन्, विगत २५ बर्षदेखि बैण्डवाजामा संलग्न वाद्यवादक धनुषा मिथिला नगरपलिका १ का ५७ बर्षिय पवितर रामले ।

एउटा विवाहमा वाद्यवादन बजाएवापत १५ सय रुपैयाँ लिनेगरेका राम यसैको आम्दानीले छोराछोरी पढाउँछन्, घरमा नुन तेलको जोहो गर्छन् । तर पछिल्ला दिनहरुमा बैण्डबाजाबाट उनको कमाई घटेको छ । उनी भन्छन्, सबै डिजेको पछि लाग्न थाले, विवाहमा ब्याण्डबाजालाई धेरैले बोलाउन छाडिसके । अरुको खेतमा ज्याला मजदुरी गरेर परिवार चलाईरहेका उनका चार सन्तान छन् । उनको परिवार ऐलानी जग्गामा फुसको घर बनाएर बसेको छ ।

ब्याण्डबाजाको समूहमा पियानो बजाउने धनुषा, विरेन्द्र बजार, छघडियाका २८ बर्षिय प्रमोद रामको भनाई पनि पवितर रामको जस्तै छ । एउटा विवाहमा पियानो बजाएको दुई हजार पारिश्रमिक लिने गरेका उनी पनि डिजेका कारण ब्याण्डबाजाप्रतिको आकर्षण घट्दै जान थालेको बताउँछन् ।

गएको माघ महिनामा मात्रै पाँच वटा विवाह भ्याएका उनले गएको बर्षको माघ महिनामा १२ वटा विवाह भ्याएका थिए । चार सन्तानका बावु प्रमोद पनि पवितरले जस्तै विवाहको मौसम सकिएपछि अरुको खेतवारी बटियामा लिएर खेती गर्छन् । खेतीबालीबाट परिवार पाल्ने अन्नको जोहो गर्ने प्रमोद नुन तेल, मरमसला किन्ने पैसा भने ब्याण्डबाजामा पियानो बजाएर जोहो गर्ने गर्छन् । तर यसपालि त एकदम थोरैले मात्रै बोलाए, प्रमोद भन्छन्, ब्याण्डबाजाको साटो गाउँघरको विवाहमा पनि डिजे ल्याउन थालिएको छ ।

ब्याण्डबाजाको समूहमा गीत गाउने महोत्तरीको भंगाहा नगरपालिका २ का ४८ बर्षिय शत्रुधन सदाले माघ महिनामा एउटा मात्रै विवाहमा गीत गाए । गएको बर्षको माघ महिनामा सातवटा विवाह भ्याएको थिएँ, सदाले भने, आजभोलि त ब्याण्डबाजालाई सट्टा (भाडा) मा बोलाउनै छाडे, ब्याण्डबाजाको साटो डिजे बोलाउने चलन बढेको छ ।

एउटा विवाहमा गीत गाएको १५ सय रुपैयाँ पारिश्रमिक लिन्छन् सदा । विवाहको मौसम सकिएपछि सदा पनि अरुको खेतबारीमा ज्यालामजदुरी गरेर परिवारको गर्जो टार्छन् । चार सन्तानका पिता उनी भन्छन्, ब्याण्डबाजामा गीत गाएको पैसाले नुन तेल चल्थ्यो, तर आजभोलि त कमै विवाहमा मात्रै बोलाईन्छ ।

ब्याण्डबाजा बजाउने समूहमा १० देखि १५ जना हुन्छन् । ढोल, तरमपिर, तम्मुर, ड्रमसेट, झुनझुना, पियानो आदि वाद्यवादनहरु बजाउँदै उनीहरु जन्तिको अघिअघि हिँड्छन् । गायकले हिँड्दै माईकमा गीत गाउँछन् । ब्याण्डबाजा बजाउनेहरुको नेतृत्व मेनेजर (ब्याण्डबाजा सञ्चालक)ले गर्छ । भाडाको तय र वाद्यवादक र कलाकारहरुको पारिश्रमिकको जिम्मा पनि मेनेजरले नै लिनुपर्छ ।

ब्याण्डवाजामा प्रयोग हुने वाद्ययन्त्र, वाद्यवादक र कलाकारले लगाउने पोशाकको व्यवस्था पनि मेनेजर स्वयंले गर्नुपर्छ । ब्याण्डबाजामा प्रयोग हुने वाद्ययन्त्र किन्न मात्रै कम्तिमा तीनलाख रुपैयाँ लाग्छ , विगत २५ बर्षदेखि ब्याण्डबाजाको मेनेजर भएर काम गरेका सरस्वती बैण्डका घुरन सदा भन्छन्, कलाकारले लगाउने पोशाक र माईक किन्न मात्रै ५० हजार रुपैयाँसम्म लाग्छ ।

सयकडा दुई रुपैयाँ ब्याजमा तीनलाख रुपैयाँ लिएर बैण्डबाजाको वाद्यवादन किनेका उनलाई ब्याज तिर्नै समस्या परेको छ । विगतमा एउटा विवाहमा ५० हजारदेखि एकलाख रुपैयाँसम्ममा सट्टा (भाडा) मा जाने गरेका उनको बैण्ड अहिले ३० देखि ३५ हजार रुपैयाँमा जानु परेकोमा दुखः व्यक्त गर्छन् ।

धनि मानिसहरुले वाध्य भएर मात्रै बैण्डबाजा विवाहमा लाने गरेको बताउँदै घुरन भन्छन्, सामान्य वर्गको विवाहबाट कहिलेकाहीं सट्टा आए पनि निम्न वर्गका विवाहमा त अब डिजेले नै काम चलाउँछन्, बैण्डबाजा लाँदैनन् । बोलाएकाहरुले पनि समयमा बैण्डबाजाको भाडा दिदैनन् ।

मधेसी समुदायको विवाह राती हुन्छ । जन्तिको भव्य स्वागत गरिरहँदा उनीहरुलाई भने वेवास्ता गरिन्छ । जन्तिले भोज खाईसकेपछि मात्रै उनीहरुको भोज खाने पालो आउँछ, सुत्ने ठाउँको व्यवस्था राम्रो हुँदैन । घुरन भन्छन्, बैण्डबाजा बजाउनेहरुलाई बजनिया भन्छन्, हेप्छन् । बैण्डबाजामा मधेसका राम, सदा, पासवान लगायतका मधेसी दलितहरु सलंग्न छन् ।  

प्रतिक्रिया दिनुहोस्