‘वर्षौ वर्षसम्मका लागि विकासको आधार खडा भएको छ’ 



काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पानी जनताको लगानी कार्यक्रमको शुभारम्भ गरेका छन् । राष्ट्रिय सभा गृहमा बिहीबार आयोजित एक समारोहका बीच उनले कार्यक्रमको शुभारम्भ गरेका हुन्।

सरकार हल्लिएर बस्ने, कुरा बोकेर बस्ने नभई भिजनसहित आएको सरकार भएको दावी गर्दै उनले भने–‘यो सरकार कुरा बोकेर जिन्दगी चलाउने होइन, नेपाली जनताले कुरा बोकेर जिन्दगी चलाउने होइन भनेर भिजनसहित सुदृढ सरकार बनाएका छन् ।’ 

यो सरकारले एक वर्ष वा पाँच वर्षका लागिमात्र नभई वर्षौवर्षसम्मका लागि विकासको आधार खडा गरेको उनले दावी गरे । विकासका निम्ति आधार वर्ष हो अहिलेका लागि होइन, पाँच वर्षका लागि होइन, आगामी धेरै वर्षका लागि विकासको आधार हो । यसले मजबुत आधार बनाएको छ, उनले भने ।

अहिलेको सरकारले एक वर्षभित्र कानुनी, आर्थिक, संरचनागत, व्यवहारिक सबै हिसाबले बलियो जग तयार पारेको भन्दै उनले यसले हजार तले घर पनि थाम्न सक्ने दावी गरे । ‘यस्तो मजबुत जग बनाइएको छ । अब दुई चार वा १०÷२० तले होइन हजार तले घर बनाउनुहुन्छ भने यो जगले थाम्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले भने–‘म दावाका साथ भन्छु नेपालको प्रगति यस एक वर्षको इतिहासमा पहिलेभन्दा बढी गतिका साथ काम भएको छ, उपलब्धीका साथ काम भएको छ। तथ्यले आँकडाले बताउँछ’ उनले भने । 

‘यसैगरी नेपाल अगाडि बढ्ने हो भने नेपाल बेग्लै अवस्थामा पुगिसक्ने छ । सरकार छलछाम गर्ने नभई स्पष्ट योजना र मार्गचित्रका साथ अगाडि बढेको पनि प्रधानमन्त्री ओलीले बताए । अहिलेको सरकारले यसअघि एक वर्षको अवधिमा कसैले गर्न नसकेको काम गरेको पनि प्रधानमन्त्री ओलीले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्