थप पाँच लाख आरटिडी किट ल्याउने तयारी



काठमाडौं : कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको थप पाँच लाख थान आरटिडी किट ल्याउने तयारी थालेको छ ।

बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिले थप पाँच लाख थान किट ल्याउने तयारी थालेको हो । यसै साता ती किट काठमाडौँ ल्याउने गरी तयारी थालिएको विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिए ।

यसअघि सोही कम्पनीले निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्समार्फत एक लाख थान आरटिडी किट ल्याएको थियो । स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि विद म्यानेजमेन्टलाई जिम्मा दिएको थियो ।

सरकारले निजी क्षेत्रले सञ्चालनमा ल्याएका अस्पतालाई समेत कोरोना परीक्षणका लागि अनुमति दिएको छ । सो अनुमतिपछि कोरोना परीक्षणको दायरा बढ्ने विश्वास लिइएको छ ।

सरकार तथा विभिन्न निजी अस्पतालको आग्रहमा ती किट ल्याउन लागिएको हो । यसको बजार मूल्य प्रतिकिट रु ५६५ रहने रहेको छ । विद म्यानेजमेन्टका प्रमुख भण्डारीले चीनको राजधानी बेइजिङबाट ती किट ल्याउन लागिएको बताउनुभयो ।

यसअघि विद म्यानेजमेन्टले गत वैशाख १७ गतेको सम्झौताअनुसार सामान ल्याएको थियो । यसअघि सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन् । विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो ।

सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको थियो । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले थप सामान आयात गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्