यस्तो छ प्रदेश २ मा कोरोना भाइरसको अवस्था



जनकपुरधाम : प्रदेश २ मा आईतबारसम्म ५ हजार ३ सय ६९ जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरिएकोमा १ सय २२ जना संक्रमित भएका छन् ।

सप्तरीमा ५ सय १३,सिरहामा ५ सय ४९,धनुषामा ४ सय २७,महोत्तरीमा ५९,सर्लाहीमा १ सय ५२,रौतहटमा ४ सय ७१,बारामा २९ र पर्सामा २ हजार २० जना गरि कुल ४ हजार २ सय ८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सप्तरीमा ९,सिरहामा ८०,धनुषामा २ सय ३८,महोत्तरीमा ४०,सर्लाहीमा शुन्य,रौतहटमा १ सय २१,बारामा ४ सय ७० र पर्सामा शुन्य गरि ९ सय ५८ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा आज (आईतबार) मात्रै धनुषामा ८६,रौतहटमा २२ र पर्सामा ३० गरि १ सय ३८ जनाको स्वाब संकलन गरिएको छ ।

त्यस्तै यस प्रदेशमा अहिलेसम्म ५ हजार ५ सय ५२ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ हजार ५ सय ४१ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

सप्तरीमा १ हजार ६३,सिरहामा ४ सय २१,धनुषामा ५ सय १२,महोत्तरीमा २ सय ३०,सर्लाहीमा १ सय ८०,रौतहटमा ५ सय ६६,बारामा १ सय ७४ र पर्सामा २ हजार ४ सय ६ जनाको आरडिटी परिक्षण गरिएकोमा सप्तरीमा ४,धनुषामा ३,सर्लाहीमा २,बारामा १ र पर्सामा १ गरि ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आज (आईतबार) बारामा २० र महोत्तरीमा २ गरि २२ जनाको आरडिटी परिक्षण गरिएको छ ।

आरडिटी विधिबाट गरिएको परिक्षणमा सप्तरीमा १ हजार ५९,सिरहामा ४ सय २१,धनुषामा ५ सय ९,महोत्तरीमा २ सय ३०,सर्लाहीमा १ सय ७८,रौतहटमा ५ सय ६६,बारामा १ सय ७३ र पर्सामा २ हजार ४ सय ५ गरि कुल ५ हजार ५ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशमा संक्रमित १ सय २२ मध्ये ९० जना पर्साका,१३ जना रौतहटका,४ जना बाराका, ५ जना धनुषाका,४ जना महोत्तरीका,४ जना सर्लाहीका,१ जना सिरहाका र १ जना सप्तरीका व्यक्ति छन् ।

पर्सा जिल्लामा पीसीआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका ६३ जना पुरुष र ८ जना महिला गरि कुल ७१ जनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा एवं १७ पुरुष र ८ महिला गरि कुल २५ जनाको वीरगञ्ज महानगरपालिकास्थित सिद्धार्थ स्कुल परिसरमा निर्माण गरिएको आईशोलेसन कक्षमा राखि उपचार भईरहेको छ भने जनकपुरधामको प्रादेशिक अस्पताल परिसरमा अवस्थित नर्सिङ्ग क्याम्पसमा निर्माण गरिएको आईशोलेसन कक्षमा २ महिला र ४ पुरुष गरि कुल ६ जनाको उपचार भइरहेको छ । त्यस्तै सप्तरी जिल्लाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको आईसोलेशन कक्षमा एकजना संक्रमित युवकलाई राखिएको छ ।

आज मात्रै कोरोना पुष्टि भएका रौतहटको राजपुर र इशनाथ नगरपालिकाका १० जनालाई आइसोलेसनमा ल्याइएको छ । गौरमा तयार पारिएको सो आइसोलेसन कोविड लेभल १ को रहेको जिल्ला अस्पताल गौरका डा।कृष्ण साहले बताए । सो आइसोलेसनमा रहने संक्रमितको उपचार गर्न दुई वटा टिम तयार पारिएको उनले बताए । त्यस्तै वीरगञ्जको गण्डक हस्पिटललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ । गण्डकी अस्पतालमा ७० बेडको आइसोलेसन कक्ष तयार गरिएको हो ।

देशभर संक्रमित पाइएका २ सय ९५ मध्ये २ सय ३८ जना पुरुष र ५७ जना महिला रहेका छन् । जसमध्ये ३६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् ।
देशभर अहिलेसम्म ९५ हजार ९ सय २९ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । पीसीआरविधिमार्फत २८ हजार १ सय ६० जनाको र आरडिटी मार्फत ६७ हजार ७ सय ६९ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार ४ सय ६९ र आरडिटी विधिबाट २ हजार २० गरि कुल ३ हजार ४ सय ८९ जनाको परीक्षण भएको छ ।

कोरोना संक्रमणका कारण नेपालमा एक महिला र एक पुरुष गरि २ जनाको मृत्यु भईसकेको छ । काठमाडौं उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी कुल ३ सय ४६ जना अस्पतालको आईसोलेसनमा छन् भने १८ हजार ३ सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । देशभरमा ३ सय ८२ जना रेड जोन अर्थात सम्भावित संक्रमित व्यक्तिहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्