अढाई लाख विद्यार्थी खेलकुदमा जोड्ने प्रदेश १ को योजना



मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा एन प्याब्सन मोरङले आयोजना गरेको खेलकुद कार्यक्रमको बिहीबार उद्घाटन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की । 

विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आगामी शैक्षिक सत्रदेखि प्रदेशका अढाई लाख विद्यार्थीलाई प्रत्यक्षरुपमा खेलकुदमा सहभागी गराइने बताएका छन् ।

 

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा एन प्याब्सन मोरङले आयोजना गरेको खेलकुद कार्यक्रमको बिहीबार उद्घाटन गर्दै मन्त्री कार्कीले विद्यार्थीलाई खेलकुदमा जोड्न अनिवार्य बनेको बताए । उनले प्रदेश सरकारले आगामी वैशाखदेखि ‘म अगाडि बढ्छु’ भन्ने नाराका साथ सगरमाथा टिन्स क्लब स्थापना गरेर माध्यमिक तहका अढाई लाख विद्यार्थीलाई खेलकुद गतिविधिमा सहभागी गराउने जानकारी दिए ।

हाम्रा समाजमा रहेका जातीय, धार्मिक, सामाजिक  र सांस्कृतिक विविधतालाई जोड्ने सूत्रको काम खेलकुदले गर्ने कार्कीको भनाइ छ । ‘खेलकुदले जात, भूगोल, धर्म केही पनि भन्दैन,’ उनले भने, ‘त्यसैले खेलकुदका माध्यमबाट सबैलाई सामूहिक रुपमा जोड्न र एकताको सूत्रमा बाँध्न सकिन्छ ।’ 

सरकारी स्तरबाट माध्यमिक तहमा खासै खेल गतिविधि नभए पनि निजी तथा आवासीय विद्यालयले आयोजना गर्ने खेल गतिविधिले खेलकुदको विकासमा टेवा पुगिरहेको मन्त्री कार्कीको भनाइ छ । समाजको आमूल परिवर्तन  र राष्ट्र निर्माणको अभियानमा खेलकुदको भूमिका अपरिहार्य हुने कार्कीले बताए ।

विद्यालय तहबाटै खेललाई व्यावसायिक बनाउन प्रदेश सरकार तयार रहेको उनको भनाइ छ । फागुन ३ गते अर्थात् भोलिसम्म सञ्चालन हुने खेलकुदमा दुई हजार विद्यार्थीले  प्रतिस्पर्धा गर्ने एन प्याब्सन मोरङका सचिव नारायणप्रसाद ढकालले जानकारी दिए । एन प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाइजम्प, ट्रिपल जम्प, सर्टपुट, कबड्डी तथा भलिबल खेल समावेश गरिएको ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्