‘मायालु डाँडा’ मा प्रेमिल माहोल



म्याग्दी : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस सुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीय स्थल ‘लभ्ली हिल’ (मायालु डाँडा) मा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका वडा नं २ खबरामा अवस्थित मायालु डाँडामा युवकयुवतीको भीड लाग्न थालेको हो ।

सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको लभ्ली हिलमा केही दिनयता युवकयुवती आउने क्रममा उल्लेख्य वृद्धि भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताए । हिजोआज म्याग्दीका मात्रै होइन, देशका विभिन्न जिल्लाबाट आएका व्यक्तिका साथै विदेशीको समेत यहाँ भीड लाग्न थालेको उनको भनाइ छ ।

पहिला पहिला खाजाका विभिन्न परिकार बोकेर आउने युवा भ्यालेन्टाइन डेको माहोल सुरु भएपछि गुलाफ र विभिन्न जातका फूल लिएर एकापसमा साटासाट गरेका दृश्य देखिने गरेको लम्भी हिल हरितपार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले बताए । ‘आधुनिक पोसाकमा सजिएर वाइक, स्कुटीलगायतका सवारीसाधनमा यहाँ आउने युवकयुवतीको संख्या पहिलेको तुलनामा केही दिनयता सतप्रतिशतले वृद्धि भएको छ’, घिमिरेले भने, ‘युवकयुवतीको संख्या वृद्धिसँगै यहाँका कृषि उपज र फलफूलको पनि व्यापार बढेको छ ।’

लभ्ली हिलमा रेलिङ, गोलघर, खाजाघरलगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो ।  साबिकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँनजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्लीहिल बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्